काठमाण्डौं उपत्यकाको कालीमाटीबाट १६ कि.मी. टाढा दक्षिणी भेगमा रहेको रहेको ऐतिहासिक वस्ती फर्पिङ्ग नास्पाती र खुर्पानीको लागि प्रसिद्ध रहेको छ । बौद्ध धर्मावलम्बीहरुले बपुज्ने बज्रयोगिनी र हिन्दू धर्मावलम्बीहरुले पुज्ने तन्त्रदेवी दक्षिणकाली खुल्ला उच्च समथल भागमा नागको फणाजस्तो रहेको छ फर्पिङ्ग । फर्पिङ्ग किराती शब्द फरपिङ्गु बाट बनेको हो । शिखीबुद्धद्धारा स्वयम्भू दर्शनार्थ ध्यान बसेको डाँडा ध्यानोच्चको पादमा फैलिएको फर्पिङ्गलाइई शिखरापुर पनि भन्ने गरिन्छ । नेपाल भारतको तराईतर्फ पुग्ने सर्वाधिक छोटो ५६ कि.मी ( फर्पिङ्ग हेटौडा) मार्ग शुरु हुने फर्पिङ्ग समुन्द्री सहतबाट एकहजार पाँचसय मिटर उचाइमा रहेका छ । इं.संं. ७८७ अर्थात् नेपाल सवत् शुरुहुनु भन्दा ८३ वर्ष अघि राजा भीमार्जुन देवले फर्पिङ्ग देशलाई सात टोल, सात ढुङ्गेधारा, सात डबली र सात योग संयोजन गरी नगरको चारैतिर अष्टमातृका पीठसहित निमार्ण गराएको बताइन्छ । आदिकालमा नरोपा, फर्पिङ्गपा, तिलोपा र ओदियानाचार्यजस्ता महायानी बज्रयान बौद्ध धर्मावलम्बीले अनेकौँ सिद्धी प्राप्त गरेको प्रख्यात सिद्धस्थल फर्पिङ्गको उत्तरमा बज्रयोगिनी डाँडा रहेका छ । फर्पिङ्ग कोटाल, कोछु(हालको लाय्कु झम्केश्वरी दरबारक्षेत्र) टिपी थल्कु, यल्खु, कोर्पु र थर्पु नाउँका सात टोलमा विभक्त छ । फर्पिङ्गका आठ पीठमा कटुवाल दह, दनुवार गाउँमुनीको माहेश्वरी, पावरहाउस वाग्मती किनारामा रहेको ब्रम्हायणी, फर्पिङ्ग बसपार्कमुनीको कुमारी, दक्षिणकालीमा दक्षिणकालीकी आमा वैष्णवी र फूल्चोकी गाउँ जाने बाटोमा नख्खु खोला छेउको नीलबाराही पीठ छ । हुड्कोखोला किनाराको इन्द्रायणी, शेषनारायण मन्दिरको चामुण्डा र डल्लु खोालको दोभानस्थित महालक्ष्मी पीठ रहेका छन् । राजा शिवदेव प्रथमको राज्यकालमा बनेका यहाँकाबा बुद्ध विहारहरु भीमबहाः दिगुबहाः, वोखाबहाः, क्वाःबहाः, तःबहा, खाबहाः रहेका छन् ।
फर्पिङ्ग वंशावली र प्रथम शिलापत्रअनुसार त्यसबेला विहार संरक्षणर्थ भिक्षुलाई सरकारबाटै विभिन्न आर्थिक सहायता हुन्थ्यो । फर्पिङ्गको मुलवस्ती प्रवेश गर्दा झम्केश्वरी मन्दिर प्राचीन दरबारको भग्नावशेष, ढुंगेधारा, मललकालीन भीमसेन मन्दिर र सामान्य पाटी शैलीको भगवती मन्दिर रहेका छन् । भगवती मन्दिरको बाहिर दायाँ गणदेव लिच्छवी संवत् ४७९ अस्पष्ट अक्षरको शिलापत्र छ भने अर्को ने.सं. कालीन जयस्थितिमल्लका छोरा धर्म मल्लको शिलापत्र रेहको छ । जसमा रावल जयत्र सिंह, देव योद्ध सिंह र राम सिंहलगायत ४२ जना भारो श्रेष्ठ जातिले नायबी शासन गरेको उल्लेख गरिएको छ । बौद्ध सभ्यताले सम्पन्न फर्पिङ्गको विहार भत्काउने भिक्षु भिक्षुणीलाई जबर्जस्ती गृहस्थ बनाउने कार्य राजा जयस्थिति मल्लले गरेको ईतिहास यहाँ रहेका छ । झम्केश्वरीको कोछुटोल दरबारमा हाल पनि तलेजु देवतासहित कोटघर रहेको छ । भनिन्छ, कोटघर दरबार प्रचान कालमा नौतल्ले थियो । अहिले पनि श्रेष्ठ कन्यालाई कुमारीका रुपमा पुजिने कोटघर फर्पिङ्गबासीले दशैँमा जमरा राख्ने रामूहिक घर पनि हो । सोही दरबारमा रही किराती राजा यलम्बरका छोरा पव्वी अर्थात् पचलीले राज्य गर्दथे । उनी काठमाडौँ टेकू निवासी एउटी खड्गी कन्यासँग प्रेम गर्दथे । यो कुरा रंगेहात पक्रिएका पचलीलाई केटीका आफ्न्तले कुटपिट गरी वर्तमान टेकूको काँडाघारीमा फ्यांकिदिए । सोहि ठाउँबाट सिद्ध भएको विश्वास गरिन्छ । हाल पचलीलाई फर्पिङ्गको राजा भन्ने चलन यही घटनाबाट चलेको हो ।
बज्रयोगिनी ह्योगुद्यो:
फर्पिङ्ग बस्तीबाट स्पष्ट देखिने गोरखनाथ डाँडाको पादमा अवस्थित ह्योंगुद्यो बज्रयोगिनी मन्दिर तीनतल्ले पेगोदा शैलिमा छुट्टै विशेषतासहित ठडिएको छ । स्वयम्भू पुराणमा उल्लेख भएअनुसार प्राचीनकालमा फर्पिङ्ग देशमा रोग व्याधि र अनावृष्टिले हाहाकार मच्चियो । रोग र अनावृष्टिबाट उत्पन्न भोकको समस्या निराकरण गर्न ओदियानाचार्य बज्राचार्यले बर्तमान कपिलबस्तु भगवान बुद्धको राजदरबारमा अष्टसिद्धि प्राप्त गरी हाल फर्पिङ्ग शेषनारायण तत्कालीन समयमा शिखर लोकेश्वर विहार गुफा उपवोध ब्रत बस्दा विस्कामी देवी प्रकट भई मांसाहुति यज्ञ गर्न आज्ञा भएछ । ओदियानाचार्यले आफ्ना मासु आफैँले काटी होम गरिरहेको बेलमा बज्रयोगिनी देवी आकाश मार्गबाट दर्शन दिदै फर्पिङ्ग देशमा रोग व्याधि अनावृष्टि दुःखको अन्त्य र अन्नबालीको सुरक्षा गराई अन्तध्र्यान हुनुभएको भन्ने जनविश्वास रहेको छ । भाषा वंशावलीमा ई.स. ७९७ मा राजा भीर्माजुन देवले ४६ हजार जनसंख्याको शहर शेषनारायण बज्रयोगिनीसहित निर्माण गरेको उल्लेख पाइन्छ । सातौं शताब्दीका निर्माण भएको मानिने बज्रयोगिनी क्षेत्र डाँडामा ३० वटा भन्दा बढी महायानी गुम्बा छन् । फर्पिङ्ग बर्जयोगिनी जात्रा श्रावण कृष्ण त्रयोदशीका दिन हुने गर्दछ ।
शेषनारायण तथा शिखर लोकेश्वरः
बौद्ध धर्मावलम्बिहरुले शिखर लोकेश्वरको नाउँबाट पुकार्ने शेषनारायण उपत्यकाको प्रमुख चार नारायणस्थानहरु मध्ये फर्पिङ्गको पश्चिमतर्फको शेषनारायण एक हो । यहाँको मन्दिर परिसर दुई भागमा विभाजित देखिन्छ । पहिलो, बाटोको नजिकै पोखरीहरु र शिखर शैलीमा बनोको दुई शिवालयहरु रहेका छन् । यहाँ शिवलिङ्गहरु र अन्य देवी देवताका सुन्दर प्रस्तर मूर्तिहरु रहेका छन् । तिनमा लक्ष्मिनारायण, अर्धनारीश्वर भगवान् र कामदेवका मूर्तिहरु मुख्य हुन् । यहाँ तेह्रौ शताब्दीको मानिने सूर्यदेवको आधा पानीमा डुबेको मूर्ति पनि रहेको छ । माथिल्लो कुण्डमा शिवपार्वतीका मूर्ति पनि रहेको छ ।
दोस्रो भागतर्फ जानका लागि राम्रा ढुङ्गाका सिँढीहरुबाट अलिकति माथि उक्लिएपछि नारायण गुफा आउँछ । यहाँ एकतले छाना सहितको मन्दिर छ । मन्दिरभित्र भगवान् विष्णुविक्रान्तको देदीप्यामान प्रस्तर मूर्ति विराजमान छ । सँगै विष्णुका वाहन गरुडको मूर्ति पनि देखिन्छ । मन्दिर पछाडि अलिकति माथि भित्तासित सटेको एउटा देवलमा विष्णु, गौरी लक्ष्मी समेतका केहि मूर्ति रहेका छन् । मन्दिर परिसरमा सोह्रौ शताब्दीको मानिने हनुमान्को मूर्ति रहेको छ । मन्दिरमा भगवान् शेषनारायणको पुजारीहरुबाट नित्य पूजा हुन्छ । प्राचीन एक किंवदन्तीअनुसार यहाँको मन्दिर र मूर्तिहरुको स्थापना भगवान् कृष्णका छोरा प्रद्युम्नबाट भएको हो भन्ने जनविश्वास रहेको छ । अन्य नारायणस्थानमा जस्तै शेषनारायणमा पनि हरिबोधनी एकादशीदेखि पूर्णिमाका दिनसम्म मेला लाग्छ ।
Photo Credit: Kalpana Maharjan
गोरखनाथ गुफा, गणेश र सरस्वती गुम्बाः
आसुरी तहाग नाउँबाट प्रख्यात गोरखनाथ गुफा बज्रयोगिनी मन्दिरमाथि सिढी उक्लिएर पुग्न सकिन्छ । सम्पूर्ण फर्पिङ्ग देशको दृश्यावलोकन गर्न सकिने गोरखनाथ गुफा लामा परम्परा अनुरुप रिम्पोछेँ र तारा देवताको मूर्ति सजाइएका छन् । भारतबाट तिब्बत जाने क्रममा पद्मसम्भवले समेत यही गुफामा बसी नैरात्मादेवीको ध्यान गरी दर्शन पाए भन्ने विश्वास गरिन्छ । पद्मसम्भव बज्रसत्व ह्याग्रिव भैरवका मूर्तिबाट अगाडि गोरखनाथको पादचिन्ह ने.सं. ५११ माघ शुक्ल पक्षको दिन जयस्थिति मल्लको राज्यकालमा जयस्थिति देवले स्थापना गर्न लगाएको उल्लख छ । सत्ययुगमा तारा पीठ, त्रेतायुगमा कामरुप, द्धापरयुगमा ज्ञानशैली पीठ र हाल कलियुगमा कामाख्या नाउँले प्रख्यात बज्रयोगिनी डाँडाको अर्को प्रख्यात मन्दिर गणेश सरस्वती गुम्बा हो । बौद्ध धर्मावलम्बीहरुले गौतम बुद्धले यस धर्तीमा जन्म दिएको सूचनाको बाहक सेतो हात्तीको रुपमा गणेशलाई र मञ्जुश्रीको अर्धागिनी मानेर सरस्वतीलाई पुज्ने गर्दछन् ।
दक्षिणकाली र दक्षिणकालीकी आमाः
काठमाडौं उपत्यकाको, दक्षिण भागमा रहेको दक्षिणकाली मन्दिर भगवतीको एक
“शक्ति(पीठ” हो । ५६ हेक्टर क्षेत्रफलमा फैलिएको दक्षिणकाली उद्धारवती नदी दोभानबीच नागले ओढाएको शिलामूर्तिसहित रहेका छ । मत्स्य, मांस, मदिरा, मुद्रा मैथुन र पशुबलिलाई पञ्जमकार तन्त्रयोग पद्धतिको स्वच्छन्द प्रवृतिलाई स्वीकार गरी स्थापित दक्षिणकाली शाहवंशीय राजाको कुल देवताको रुपमा लिइन्छ । अन्य योगसिद्धिले यौनलाई दबाउनु वा त्याग्ने मार्ग बताएको छ । तर दक्षिणकाली तन्त्र योगले यौन तथा बलिकै माध्यमबाट समाधिसम्म पुग्नसक्ने मार्ग प्रशस्त गरेको छ । मातृसत्ताको जागृत स्वरुप दक्षिणकाली अष्टमातृका पीठमध्ये एक हो । ने.सं. ७६२(७९५ कालीन राजा प्रताप मल्ल, गुरु नृसिंह भट्ट र मन्त्री भीम मल्ल तीनजनाले सहमतिमा प्रचारित र विकसित दक्षिणकाली देवस्थल वि.सं. १८४२ मा सरदार कालु पाण्डे, वि.सं. १८५६ मा राजा गीर्वाणयुद्ध विक्रम शाहलगायतका राजा तथा भारदारले गठी राखी संरक्षणप्रति ठूलो श्रद्धा, भक्ति दर्शाएका छन् ।
एक आख्यानअनुसार हालको बज्रयोगिनी गोरखनाथ डाँडामा दक्षिणकालीलगायतका अष्टमातृका गणको बसोबास थियो । उनी रातको सन्नाटामा अफ्ना गणसहित घुम्दै जाँदा अगाडि जो मान्छे भेटिन्छ खाईदिन्थिन् । देवीले फर्पिङ्गका धेरै मानिस खाएपछि तान्त्रिकको सहायताबाट देवीलाई नदी किनारामा पूजाबलि दिनेगरी स्थापना गरिएको हो । शुरुमा दक्षिणकाली हाल दक्षिणकालीकी आमा भन्ने डाँडामाथि थियो । ने.संं. ७७४ मा राजा प्रताप मल्ल र उनका तान्त्रिक गुरु लम्बकर्ण भट्टले तलतिर नदी किनारामा स्थापना गराएको बिश्वास गरिन्छ । यसरी पीठ तलतिर स्थापना गराइँदा राजा प्रताप मल्लको समुपस्थितिमा योग नृसिंह थकुले स्थानीय वांडा शाक्य पूजारी हटाई तान्त्रिक साधना जगाई दक्षिणकाली स्थापना गराएको बताइन्छ ।
Photo Credit: Suren Manandhar
फर्पिङ्गका क्षेत्रको प्रमुख जात्राः
प्रत्येक वर्ष आश्विन कृष्ण नवमीका दिन फर्पिङ्ग देशको प्रमुख हरिशंकर जात्रा मनाउने गर्दछन् । यो जात्रामा गोपालेश्वर, तिलविक्रमेश्वर, अघोरेश्वर,नन्दिकेश्वर, शेषनारायण, सिद्धि गणेशका सात खट नगर परिक्रमा गराइन्छ । यी देवताका शक्तिका रुपमा माहेश्वरी, कुमारी, दक्षिणकाली, नीलवराही, इन्द्रायणी, नारायणी र महालक्ष्मीका साथ चार मुख्यमध्ये हरिशंकर र भैरवसहित खट जात्रामा विराजमान गराइन्छ । यस जात्रामा मातृशक्ति जागृत गराई दक्षिणकालीलाई मुख्य स्थान दिइएको भएतापनि शुरु र अन्त्य गोपालेश्वर महादेव स्थानमा हुन्छ । यस गोपालेश्वर महादेव स्थानीइ गोपाली जातिको इष्टदेवता मानिन्छ । एकान्त एकलासमा बज्रलेपन गुम्बज शैलीयुक्त गोपालेश्वर मन्दिर भित्र मूर्ति भन्दा पनि सादा ढुंगा पुजिन्छ ।
Photo Credit: Suren Manandhar
फर्पिङ्ग पावर हाउसः
फर्पिङ्गका क्षेत्रको घुम्ने ठाउँहरु मध्ये एक नेपालको पहिलो जलविद्युत आयोजनाको पावर हाउस हो । समुन्द्री सतहबाट करिब १ हजार दुईसय मिटरमा पावर हाउस तलतिर फर्पिङ्ग जलविद्युत गृह छ । राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा बनाइएको गृह भित्र दुई वटा टर्वाइन मेशिन छन् । ५ सयबाट विजुली उत्पादन क्षमता राख्दथ्यो । तर पानीको समस्याले गर्दा हाल विजुली उत्पदन बन्द रहेको छ । अहिले माथि पावरहाउसको पानी खान मात्र प्रयोग हुन्छ । गृहमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विजुली कसरी उत्पादन गरिन्छ भन्ने विषयमा जानकारी तथा अवलोकन गराईन्छ ।
Photo Credit: Ravi Dasa Shrestha
यस स्थानमा ऐतिहासिक गढी पनि छ । राजा पृथ्वीनारायण शाहले नेपाल ऐकिकरण गर्दा बनाएको गढीको भग्नावशेष बाँकी छ । नजिकै देवी मन्दिर जिर्ण अवस्थामा देख्न सकिन्छ । यहाँबाट काठमाडौ लगायतका वरिपरिको रमाइलो दृश्य देख्न सकिन्छ ।