नेपाल वैदिक सनातन धर्मावलम्बीहरुको लागि सबै धाम भएको देश हो । हिमवत् खण्ड अनुसार नेपाल तीर्थस्थले भरिभराउ भएको अथवा धार्मिक पर्यटनको महिमा भएको देश हो । यहाँको उच्चता र प्राकृतिक सौन्दर्यताले मात्र होइन धार्मिक महत्वले पनि पर्यटकलाई मनमोहित गराउन सकिन्छ । अध्यात्ममा आस्था राख्ने सबैले तीर्थाटन गर्ने गर्दछन् । तिर्थाटनले मानसिक शान्ति मिल्दछ । धार्मिक आस्थावानहरुका लागि मुक्ति प्राप्त गर्ने अचुक उपाय हो । सामान्य मानिसलाई देशदेशान्तर साक्षात्कार गर्ने र यथार्थलाई बुझेर ज्ञान आर्जन गर्न मद्द गर्दछ । तीर्थाटनले स्वास्थय ठीक राख्दछ, दीर्घजीवी गराउदछ र यौवनपन बनाइ राख्दछ भन्ने मान्यता रहेको पाइन्छ । किनकि तीर्थयात्रीको मन प्रसन्न भइरहन्छ । प्रसन्न मनले सबै पक्षमा सकारात्मक प्रभाव पार्दछ । यसरी तीर्थातनका लागि नेपाली तथा भारतीय हिन्दूधर्मावलम्बीहरु नेपाली भूमि हुँदै तिब्बतको कैलाश मानसरोवर पुग्ने गर्दछन् । नेपाल भएर जान भने पछिल्लो समयमा हुम्लाको सिमीकोट एकमात्र प्रवेशद्धार रहेको छ । पर्यटकीय हिसावले आकार्षक गन्तब्य भए पनि कैलाश मानसरोवर धार्मिक तीर्थस्थलको रुपमा प्रख्यात रहेको छ । हिन्दू तथा बौद्ध दुबै धर्मावलम्बीका लागि यो क्षेत्र पावन स्थालको रुपमा लिइन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ ।
Photo Credit: Ashok Shah
हिमालयको पवित्र क्षेत्र गङ्ग – यमुना, कर्णाली एवं गण्डकी नदीका उद्गम स्थलहरु, अनादिकालदेखि नै परम पावन रहेका छन् । उत्तराखण्डको समस्त भूमि तीर्थस्वरुप हो ।यो ठाउँ ऋषि महर्षिहरुको तपःस्थली रहेको हो । यो भूमि भगवान्का अवतारहरुको प्यारो लीलाभूमि पनि हो । उत्तराखण्डमा धेरै प्राचीन मठ मन्दिरहरु त्यति देखिदैनन् । यहाँका स्थानहरु जाडोका दिनहरुमा पूरै हिमाच्छादित हुन्छन् । महाने पवित्र तीर्थ मानसरोवर एउटा ठूलो ताल हो । हिमालयको काख र कैलाश पर्वतको नजिकै चीनको तिब्बती राज्य(प्रान्त) मा उच्च हिमशृड्.खलामा अवस्थित मानसरोवर अन्य उपलब्ध तालहरुमध्ये विशाल एवं सर्वश्रेष्ठ हो । पूर्व पश्चिम लम्बाइ र उत्तर दक्षिण चौडाइको रुपमा रहेको छ । महान् ताल केही गोलाकार हुँदै अण्डाकार जस्तो भएर रहेको छ । यसको गहिराई ७० मिटर जति रहेको अनुमान गरिन्छ । समुन्द्र सतहदेखि १३,००० फीटभन्दा माथि रहेको यस विशाल तालको साथै नजिकै अर्को ता पनि छ । जसलाई राक्षस ताल भन्दछन् । यी दुबै तलाहरु चीनको तिब्बती पठार क्षेत्रमा पर्दछन् । मानिसका दुई आँखालाई बीचमा रहेको नाकको डाडाीले छुटाए जस्तै यी दुई मानसरोवर ताल र राक्षस ताललाई एउटा सानो अलिकति उठेको डाँडाले छुट्याएको छ ।जनश्रुतिअनुसार प्राचीन समयमा लङ्केश्वर रावणले यसै राक्षस तालमा वर्षौसम्म उभिएर देवाधिदेव भगवान महादेवको आराधना एवं तपस्या गरोको थियो । सुप्रसिद्ध मानसरोवरको जल अत्यन्त स्वच्छ र नीलो देखिन्छ । यसको बाहिरी घेरा करिब ४० किलोमिटर जति रहेको छ।
Photo Credit: Ashok Shah
ऋषि विश्वामित्रले रामलाई भन्छन् कैलाश पर्वतको समीप ब्रह्माजीको इच्छाले एक अति रमणीय सरोवर निर्मित भएको छ । भगवान ब्रह्माको मनको इच्छाले निर्मित यस ताललाई मानसरोर भनिएको हो भन्ने वाल्मीकीरामायणमा उल्लेख भएको पाइन्छ ।
कैलाशपर्वतते राम मनसा निर्मितं परम् ।
ब्रह्मणा नरशार्दूल तेनेदं मानसं सरः ।।
(वाल्मीकिरामायण, बालकाण्ड २४र८)
मानसरोवर ५१ शक्तिपीठ मध्ये एक पीठको रुपमा मानिन्छ ।यहाँ सतीदेवीको दाहिने हत्केला खसेको थियो । प्राकृतिक रुपमा अत्यन्त सुन्दर यस रमणीय तालमा हाँसहरु बस्तछन् । तिनमा राजहंस र सामान्य हाँसहरु पनि हुन्छन् ।टाढा टाढासम्म पर्याप्त उड्न सक्ने राम्राहरु यहाँ मनग्य देखिन्छन् ।मानसरोवरमा मोती पनि पाइन्छ भन्छन् तर त्यो आजकल देखिदैन । कमलको फूल पनि त्यँहा देखिदैन, निकि धेरै उचाइमा हुनले पानी ज्यादै चिसो हुने हुँदा कमल त्यँहा नलाग्ने भएको हुन सक्छ । धेरै प्राचीन कालमा मानसरोवर तालको पानी राक्षस तालमा जान्थ्यो रे तर आजकल पानी त्यहाँ जाँदैन । अब त्यहाँ बीचमा ढिस्को बसिसकेको छ । हजारौं वर्षमा भूकम्प आदिको कारणले पनि यसो भएको हुन सक्छ । यसरी हेर्दा मानसरोवरबाट कुनै झरना वा नदी निक्लेको पनि देखिदैन । त्यहाँको अन्वेषण गर्ने विद्धानहरुको मत छ कि भित्र भित्रै जमीनबाट भारतमा बग्ने सरयू, ब्रह्मपुत्र र नेपालमा बग्ने महाकाली, कर्णालीजस्ता नदीहरु मनसरोवरबाट निस्केका हुन् ।
मानसरोवरदेखि कैलाश पर्वत करिब ३० किलोमिटर दूरीमा अवस्थित छ । मानसरोवर पुग्नु भन्दा परदेखि नै कैलाश पर्वत देख्न सकिन्छ । तिब्बतीहरु पनि कैलाशलाई देवताकै रुपमा मान्ने र अत्यन्त श्रद्धा गर्ने गर्दछन् । भगवान् शङ्करको दिव्यधाम कैलाश यही हो । यो अत्यन्त पवित्र तीर्थस्थल हो । जस्तै अयोध्या राम जन्मेको ठाउँ हो र कृष्ण जन्मेको स्थान मथुरा हो । त्यस्तै कैलाश शिवको धाम हो र महान् तीर्थक्षेत्र हो । यसको परिक्रमा गर्ने परिधिको दूरी करिब ५० किलोमिटरजति पर्छ । अनेक श्रद्धालु तिब्बती र हिन्दूहरु कैलाशको परिक्रमा गर्छन् । कैलाश परिक्रमाको ठूलो महिमा रहेको छ ।
Photo Credit: Ashok Shah
समस्त कैलाश पर्वतको आकृति एक विराट् शिवलिङ्गको आकार जस्तै छ । यो कैलाश अरु पर्वतहरुको बीचमा एउटा षोडश दल कमलको मध्यभाग जस्तै दृष्टिगोचर हुन्छ । यी कमलाकार टुप्पाहरु झुकेर लामो भएका हुँदा नियालेर हेर्ने हो भने मानौ झुकेका पर्वतका टुप्पाहरुले शिवलिङ्गकार कैलाशलाई अर्घ दिइरहेको भान हुन्छ । यिनै झुकेका भागबाट कैलाशको जल गौरीकुण्डमा झर्छ । कैलाशको टुप्पो विशाल कालो खँदिलो हो र माथि पनि भनिएको छ कि यो शिखर चाहिँ सदैव दूध जस्तै सेता हिउँले छोपिएको हुन्छ । समीपस्थल अन्य पर्वतशिखरहरु कैलाश पर्वजस्ता बलियो ठोस कालो ढुङ्गा नभई चुरे ढुङ्गा जस्तै कच्चा खालका देखिन्छन् ।समय समयमा पहिलो जाने र भत्कने पनि गर्छन् तर कैलाश भँने एउटै नखस्ने, पहिरो नजाने र अत्यन्त खँदिलो विशाल कालो शालिग्रामी ढुङ्गा भएको पर्वत शिखर हो । यसको परिधि करीब ५० कि.मि. छ र श्रद्धालु तीर्थयात्रीहरुले प्राय तीन दिनमा परिक्रमा पूरा गर्ने गर्छन् ।
Photo Credit: Ashok Shah
कैलाश पर्वतबारे शास्त्रहरुमा विशद रुपले वर्णन भएको पाइन्छ । स्कन्दपुराण, काशीखण्ड अध्याय १३ र हरिवंशपुराण, २०२ अध्यायमा उल्लेख भएअनुसार कैलाशको उत्पत्ति भगवान् विष्णुका नाभि कमलबात भएको हो । देवीभागवत र श्रीमद्मागवतमा यसलाई देवता र सिद्ध एवं अति रमणीय स्थान भनी यसको वर्णन गरिएको छ । यहाँ मनुष्यको वास ने सम्भव छैन ।
जन्मौषधितपोमन्त्रयोगसिद्धैर्नरेतरैः
जुष्टं किन्नरगन्धर्वैरप्सरोभिर्वृतं सदा ।।
(श्रीमद्भागवत, ४र ६र ६)
Photo Credit: Ashok Shah
योगसिद्ध ठूला तपस्वीहरु, सिद्धहरु, किन्नर गन्धर्व अप्सराहरु र जीवनदायिनी बनौषधीहरुले कैलाश पर्वतलाई सुशोभित गरेका छन् । भन्ने श्रीमद्भागवतको प्रस्तुत श्लोकको मनसाय हो । यस्तो देवस्वरुप कैलाश पर्वतको दर्शन परिक्रमा आदि गर्नाले ठूलो पुण्य मिल्ने शास्त्रमा बताइएको छ ।
Photo Credit: Ashok Shah
मानसरोवर जाने मुख्य सिजन जेठ असार महिना हो । मानसरोवरमा नेपाल भएर जान विगत वर्षमा तीथर््यात्रीले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुड. नाका प्रयोग गर्ने गरेका थिए । भूकम्पले दुवै नाका बन्द भएपछि हुम्लाको सिमीकोट नै मानसरोवर प्रवेशद्धार बनेको छ । सिमीकोटमा वर्षैपिच्छे तीर्थयात्रुका घुँइचो बढ्दो छ ।
Photo Credit: Ashok Shah