काठमाण्डौँ उपत्यकाको नयाँ नयाँ गन्तव्यको खोजि भइरहेको अवस्थामा एकदिनको साइड सिन टोखामा पनि गर्न सकिन्छ । टोखाको साइडसिनको क्रममा प्रागैतिहासिक पुरातात्विक मठ मन्दिर ढुङ्गेधारा, पाटी पौवा, स्थानीयको जिवनशैली पर्यटकहरुको लागि रोचक लाग्ने छ ।
चारसय टोखा सात सय फेरा भन्ने भनाइई जनजिब्रोमा झुण्डिएको छ । प्रस्तुत लोकवाक्यले टोखाको उक्त समयको ख्याति प्रसिद्धि विस्तृति र कर्म संस्कृतिलाई पनि उजागर गरेको छ । नेपाल भाषामा टु भन्नाले उखु र ख्यो भन्नाले चउर भन्ने बुझिन्छ । काठमाडौं सामाखुसीबाट ४ कि.मी उत्तर शिफुचो(शिवपुरी ८९६३ फिट) पहाडको दक्षिणी काखमा अवस्थित टोखा, प्रशस्त उखु उत्पादन हुने ऐतिहासिक स्थल हो ।त्यहि उखुको रस खारेर चाकु उत्पादन गरिन्छ । एक समय टोखा चाकुको लागि प्रख्यात मानिन्थ्यो । ऐतिहासिक धार्मिक र पर्यटकीयस्थलका रुपमा विकसित हुँदै आइरहेको टोखालाई काठमाडौँका राजा रत्न मल्लले ने.सं. ६३० मा कुकु नामक भोटे देवानको आक्रमणबाट बचाउन तीनसय घरसहित किल्लाका रुपमा बसाएको बताइन्छ । तर कलिगत संवत् २९६० कालीन पराक्रमी राजा धर्मदेव र राजा विक्रमादित्यसँग जोडिएको आख्यान, साँखु बौद्ध बज्रयोगिनी भन्दा पनि प्राचिन टोखा बज्रयोगीनी भन्ने भनाई, भक्तपुर ठीमीतिर प्रख्यात विस्केट जात्रा र हाँडीगाउँ टंगालमा प्रचलित गहना खोजेको जात्रा प्रत्येक वर्ष बैशाख १ गतेदेखि टोखामा पनि प्रचलनमा रहनुले यो यो बस्ती रा रत्न मल्लभन्दा पनि पहिले नै विकसित भइसकेको दाबी गरिन्छ । ऐतिहासिक टोखा सुन्दर संग्रहालयको रुपमा हेर्न सकिन्छ । यस खुल्ला संग्राहालय क्षेत्रमा कलात्मक पक्षलाई नियाल्दा यो भूमि मन्दिर तथा मूर्तिहरुले सजिएको कलाभूमि जस्तो देखिन्छ । यहाँको सानो भौगोलिक बृत्तमा दर्जनौँ कलात्मक मन्दिर तथा सयौँ मूर्तिहरु देख्न सकिन्छ ।
भाख्यो अर्थात भूतखेल पनि भनिने पिगंद्यो इन्द्रायणी देवस्थल १५० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कबाट २ कि.मी सामान्य उकालो उत्तरतर्फ उक्लिएपछि पहिलो दर्शनीयखुला चउरबीच देखिने दुईतल्ले पेगोडाशैलीको मन्दिर हो कालिकाख्यो । थुम्काथुम्की र अनियमित धरातलीय फाँटबीच रहेको र नेंसं. ९०४ मा निर्मित काष्ठकलायुक्त कालिका माजु हाल सिमेन्टमय भएको छ । उत्तरतिर फर्केर रहेको यस मन्दिरको सेरोफेरोबाट टाढा टाढासम्म रमणीय दृश्यावलोकन पनि गर्न सकिन्छ ।मन्दिरसँग पौराणिक तथा किंवदन्ती जस्तै लाग्ने प्रसङ्गहरु जेडिएका छन् । प्रचलित किंवदन्ती अनुसार उहिले मसानकालीले दिनहुँ मान्छे खाने गर्दा धेरै समस्या भयो। तन्त्रविद्यामा निपुण एकजनाले देवीलाई छल गरी पछाडिबाट किलो ठोकेर उठ्नै नसक्ने बनाएर राखिदिएछन् । यसैको सम्झना गर्दै देवीलाई खान्कीका रुपमा बैशाख १ गते यहाँ होम गर्ने परम्परा रहेको भनाइ पनि रहेको छ । होमको लागि धर्तीमा उब्जनेसबै प्रकारका अन्नहरु आवश्यकता पर्दछ। अन्नहरु माटाका पालामा राखेर देवीलाई अर्पित गरिन्छ । कालो बोको, दुईवटा जिउँदो सर्प वा नपाए सर्पको काचुली, दुईवटा भँगेरा, दुईवटा माछा होमका निम्ति अनिवार्य सामाग्री हुन् । यस मसानकाली मन्दिर परिसरमा भव्य फाराकिलो चौर छ । चौरको करिब मध्य उत्तर भागमा अवस्थित कलात्मक मन्दिर यस ठाउँको केन्द्रीय आकर्षण बनेको छ । मन्दिर परिसमा खेल व्यायाम, बनभोज, चलचित्र सुटिङ आदिका निम्ति मानिसहरुको पर्याप्त आवत जावत हुन्छ। केहि समय अघि भूतखेल चौरमा हिन्दि सिरियल चन्द्रकान्तका हिरो अभिनित नेपाली चलचित्र हाम्रो सानो संसारको सुटिङको दोरानमा भूतहरु निस्केर सुटिङ अबरुद्ध भएको समाचाार यो मन्दिर र चौरको ब्यापक प्रचार प्रसार पाएको थियो ।
थथालटोल(लाय्कू) दरबारमा अवस्थित खड्गद्यो तलेजु टोखा क्षेत्रम प्रचलित जत्रा पर्व सञ्लान गर्ने मुख्य केन्द्र हो । मन्दिरमा १३ वटा खड्ग सहितकी भगवती रह्की छन्। यी खड्गहरु उहिले भक्तपुरबाट ल्याइएको विश्वास गरिन्छ । विजया दशमीको अवसर पारेर गरिने खड्ग जात्रा पनि तलेजु भवानीसँगै सम्बन्धित रहेको देखिन्छ । तलेजु नजिकै रहेको सुरक्षाका देवता क्षेत्रपाललाई अर्पित गरेर भुयुफसि(कुभिन्डो) काटिने र काटिएको कुभिन्डो पाउन मानिसहरुबीच लुछाचुँडी हुने खड्ग जात्राको रोचक प्रसङ्ग पनि तलेजुसँगै जोडिएको छ । त्यस्तै अर्को रोचक प्रसङ्ग भनेको जिवित देवी कुमारीका साथ जिवित देव गणेश रहनुले पनि हो ।
टोखाको पर्यायका रुपमा चिनिने सपनीतिर्थ बज्रयोगिनी डाँडाको पादमा रहोको छ । बौद्ध, देबी बज्रयोगिनीको पादमा रहेको सपनीतीर्थ बहिमुर्खी र दूधमुखी दुई तल्ले गणेश मन्दिरसहित रहेको छ । बैशाख १ गते विक्रम संवत्को नयाँ वर्षको शुभारम्भ सँगै मेला लाग्ने भए पनि तीन दिन पहिले देखि सपनीतीर्थ भएर बग्ने त्रिवेणी र दूधवेणी नदी थुनेर बाँध तयार गरी यहाँ तलाऊ निर्माण गर्ने व्यवस्था गरिन्छ । हिजोआज यहाँ पानीको निकासका लागि पराल र स्याउला उपयोग गर्ने चलन रहेको छ ।सपनीतीर्थसँग जोडिएको किंवदन्ती अनुसार परापूर्वकालमा यहाँ सत्यवन्त राजा थिए । कुरै कुरामा उनकी कान्छी छोरीको विवाह कुष्ठरोगीसँग भयो । उनी नजिकैको पाटीमा कुष्ठ रोगीसँग बस्न थालिन् ।चैत मसान्तको राती रोगीले नजिकैको दुई नदीको दोभानमा नुहाएमा रोग निको हुने सपना देखे । भोलिपल्ट बैशाख संक्रान्तिका दिन त्यहाँ गोठालाहरु जम्मा भए । एउटा गोठालाले फट्याङ्ग्रोको खुट्टा चुँडेर नदीको दोभानमा फ्याकिदिए । हेर्दा हेर्दै फट्याङग्रो त पहिलेको जस्तै भएर निस्कियो । गोठालाहरुले धेरै फट्याङग्रालाई प्रयोग गरेर हेरे । यी सबै दृश्यहरु नजिकै बस्ने रोगीले पनि देखे । उसले रातीको सपना सम्झिए । घिस्रिँदै दोभानमा पुगेर नुहाएपछि उनको पुरानो रोग पनि निको भयो । यो कुरा एकान दुईकान गर्दै धेरैले सुने । जंङ्गलबाट बगेर आउने नदीको पानीमा औषधी त मिसिएकै थियो । औषधीको प्रयोग गर्न ठीक समयको आवश्यक थियो । समयको अचूक उपयोगबाट दुःख नासियो । त्यसपछि धेरैले थाहा पाएर त्यहाँ नुहाए । यस क्षेत्रमा बसोबास गर्ने सबै निरोगी भए । समस्या समाधानको उपाय सपनामै देखिएको हुनाले यस ठाउँको नामै सपनीतीर्थ रहन गएको हो।
टोखा देशको अष्टमातृका पीठमध्ये एक चण्डेश्वरी पीठ र महादेवस्थल टोखाको मुख्य बस्तीदेखि उत्तररि शिवपुरी पहाडको काखमा रहेको छ। नेपाल सम्वत ७९५ मा राजा नृपेन्द्र मल्लको राज्यकालमा चण्डेश्वरी मन्दिर बनेको भनिएतापनि चण्डेश्वरी क्षेत्र राजा अंशुवर्माको समयमा पनि विकसित रहेको कुरा लिच्छवीकालीन शिलापत्रले प्रस्ट्याउँछ । ने.सं. ५९३ को शिलालेख रहेको महादेव मन्दिर मल्लकालमा चारतल्ले पेगोडाशैलीको थियो र ९० सालको भूकम्पले भत्किएपछि गुम्बजशैलीमा ढालिएको बताइन्छ ।टोखावासीमा विवाह गरी ल्याइएकी दुला दुलही नवदम्पतीलाई यही मुस्कानेश्वर महादेवको टुंडाल तोरणमा कुंदिएका यौनजन्य कलाकृति देखाउन लैजाने प्रचलन छ । यस चण्डेश्वरी क्षेत्रको बारेमा स्वस्थानीमा पनि उल्लेख गरिएको छ । स्वस्थानीमा उल्लेख भएअनुसार सत्ययुगमा दक्षप्रजापतिले अश्वमेघ यज्ञ गर्दा सतिदेवी आगोमा हामफालेर आत्मदाह गरको स्थान भनी प्रसिद्ध छ । प्रत्येक मसान्त र वैशाख १ गतेदेखि ४ गतेसम्म अन्यदेवीदेवतासँग चण्डेश्वरी अजिमांको पनि भव्य जात्रा लाग्ने गर्दछ ।यस क्षेत्रमा १०८ थरी फूल फुल्ने गर्दछ ।
टोखाबाट ६ कि.मी टाढा रहेको झोर शिवपुरी राष्ट्रिय निकुञ्जको उत्तर पश्चिम पातोझोर गाउँ झ्वाट्ट हेर्दा मुस्ताङको थाकखोला क्षेत्रजस्तो लाग्दछ । जतासुकैबाट पानी मूहान निस्की पहिरो जाने नरम ढुङ्गा, माटो रहेको हुँदा यस बस्तीलाई झोर भनिएको हो । प्राकृतिक विपन्नबाट बच्न झोका बासिन्दा झोर महांकाल र वैदेश्वर महादेवको आराधना गर्दछ । स्थानीय आदिवासी तामाङद्धारा डाँडामाथि बौद्धस्तूप नष्ट भई प्राकृतिक गुफा मात्र बाँकी रहेको बताइन्छ । बौडेश्वर गुफाभित्र स्थापित महादेवको नाउँबाट यस तीर्थस्थललाई बौडेश्वर महादेव भन्न थालिएको बताइन्छ। ४० फिट उचाइ र २० मिटर लामो सुन्दर झरना, रुद्र सावित्री, सरस्वती भगवतीका मूर्तिले सजिएको गुफाभित्र प्राचिन अवशेष रहेका छन् ।गुफा अगाडिको कुण्डभित्र १ सय ८ कुण्ड रहेको विश्वास गरिन्छ । जसमध्ये पाञ्चजन्यकुण्ड, ऋषिकेशकुण्ड, देवदत्त कुण्ड, धनञ्जय कुण्ड र पाण्डव कुण्ड प्रख्यात रहेको छ। तामाङ बस्तीनजिक रहेपनि बौडेश्वर महादेव र झोर महांकाल विशुद्ध प्राकृतिक बौद्धस्थल बौदेश्वर गुफा र झोर महांकाललाई अनेक हिन्दुस्तानी कथामा पनि जोड्ने गरेको पाइन्छ। तर झोर महांकाल विशुद्ध प्राकृतिक बौद्धस्थल हो ।पनि नेवार क्षेत्री र ब्राम्हण पुगेपछि उक्त क्षेत्रमा शिवरात्री, जनैपूर्णिमा, ऋषिपञ्चमी, नवरात्री र अक्षयतृतीयाका दिन मेला लाग्ने परम्पराको थालनी भयो ।जुन मेलामा वोन धर्म परम्पराअनुसार तामाङ, झाक्री ढ्याङ्ग्रो ठटाउँदै देवताको साधना गर्न पुग्दछ ।झोरको पहाडी टाकुरामा तामाङ त्यसभन्दा मुनि सुगम टारमा क्षेत्री, ब्राम्हण र नेवारह रहेका छन् । भनिन्छ झोरका नेवारहरु टोखाबाट र क्षेत्री, ब्राम्हण नेपाल ऐकीकरणका लागि राजा पृथ्वीनारायण शाहसँग आई बसोबास गरेका हुन् । टोखालाई सेन्ट्रल प्वाइन्ट बनाएर यहाँबाट ट्रेकिङ रुटको सञ्चालन गर्ने उद्देश्यका साथ टोखामा करिब १० रोपनी क्षेत्रफलमा टोखा क्येबः मिनी फन पार्कको सुरुवात भएको छ । टोखा क्येबः मिनी फनपार्क शिवपुरी डाँडाको फेदमा रहेको छ । फनपार्कमा बेवी पुल, समुन्द्री छालको अनुभव दिलाउने पुल, स्लाइडिङ पुल, चिल्ड्रेन पार्क, नेपाली तथा नेवारी फाष्टफुड रेस्टुरेन्ट, सभाहल लगायतका सुविधा रेका छन् साथै हर्स राइडिङ, फ्रि वाईफाई लगायतका सुविधा रहेका छन्। एक दिनको टोखामा साइड सिन गराएर एक रात टोखामा विताएपछि यहाँबाट ककनी, गुरुजेभञ्ज्याङ बाघद्धार तथा सुन्दरीजल जान सकिन्छ। साथै यहाँ बाट घ्याफेदी मूलथलो फेदी धो खा भञ्ज्याङ हुदै गोसाइकुण्डको साथै लाङाटाङ जान पनि सकिने र यसैको तयारीमा लागेको स्थानीय मणिराज डंगोलले बताउनु भया ।
विशेष धन्यवाद
मणिराज डंगोल
अध्यक्ष
टोखा क्येबः मिनी फनपार्क