नेपाली समाजमा राज्यका सबै जसो प्रमुख नदीहरु र खोलाहरुको आआफ्नै किसिमको धार्मिक एवं साँस्कृतिक महत्व छ । नेपाली समाजले काठमाडौं उपत्यकाहुँदै बग्ने बागमती र बिष्णुमती नदीहरुलाई नै सबैभन्दा बढी महत्व दिएको पाइन्छ ।
यी नदीहरुको किनारा एवम संगम स्थलहरुमा विभिन्न काल खण्डमा निर्मित मठ मन्दिर पाटि पौवा तथा घाटहरुमा मानव जीवन सँग सम्बन्धित जन्म देखि मृत्यु सम्मका कृयाकलापहरु वर्षै भरि भइरहने हुँदा धार्मिक एवम साँस्कृतिक क्षेत्रमा चासो राख्ने ब्यक्तिहरुका लागि महत्वपूर्ण गन्तव्य हुन सक्छ ।
हिजोआज बागमतीको किनारालाई हामी यूएन पार्कको नामले बढि प्रचार प्रसार हुन थालेकोले बागमती सम्पदाको अस्तित्व नै लोप हुने खतरा दिन प्रतिदिन बढ्दो छ ।
नेपालका हिन्दु तथा बौद्ध धर्मालम्बीहरु पानी वा जललाई सधै पवित्र, जीवत्व र जीवनदायी मान्दछन् । पृथ्वीमा सम्पूर्ण प्राणी, वनस्पति र सवै जीवात्माको लागि नभई नहुने जीवनदायी पानीको हाम्रो जीवन र संस्कृतिसँग यति धेरै गहिरो र अटूट सम्बन्ध छ, त्यसको लेखाजोखा गर्न अति नै कठिन मात्र नभई एउटा गम्भीर अनुसन्धानको विषय बनेको छ ।
“नेपाल महात्म्य” मा भनिएको छ,
बाग्मती सरितां श्रेष्ठा यत्रकुत्रा वहाह्यते ।
तत्रतत्र फलं विद्याव्दाज पयाश्वमेधयो ः।
बागमती नदिको उत्पन्न भएको ठाउँलाई बागद्धार भनिन्छ । बागमतीको जुनसुकै भागमा नुहाइए पनि वाजपेय र अश्वमेघ(यज्ञ) को फल मिल्छ ।
पशुपति पुराण अनुसार शिवजीको हास्य किरणबाट उत्पन्न भै फेन प्रवाह बहाउने उक्त नदी शिव वाक्यबाट प्रकट भएको हो । उक्त नदी वाग्मती नामले प्रख्यात छ । मेष संक्रान्ति अर्थात वैशाख संक्रान्तिको दिन बागमतीको जन्म दिन भएकोले उक्त दिन वागद्धार वा बागमतीमा स्नान गर्नाले अति पुण्य मिल्दछ भन्ने जन विश्वास छ । वागद्धाराबाट बग्दै आएको बागमतीको किनारा अवस्थित गोकर्णेश्वर महादेवको ठूलो महिमा छ ।
पशुपति पुराण र स्वस्थानी व्रतकथाहरुमा यस पुण्य भूमिमा वृषभ ऋषिका छोरा रावण आई तपस्या गरी महादेवलाई खुशी पारी वर पाएका थिए । काठमाडौ उपत्यकाको व्रह्मतीर्थ एवं उत्तरगयाको नामले प्रसिद्ध यस तीर्थ स्थलमा कुशेऔशी अर्थात बाबुको मुख हेर्ने दिनमा दिवंगत पृतृको नाममा श्राद्ध गर्नेहरुको ठूलो भीड लाग्ने गर्छ । उक्त दिन बागमतीमा नुहाई पितृहरुलाई पिण्डदान गरी जल चढाउनाले अपार पुण्य प्राप्त हुने र पितृहरुले पनि मुक्ति पाउने बिश्वास गरिन्छ ।
्बागमती नदी बग्ने क्रममा पाशुपत क्षेत्रको आर्यघाट पुग्दा यसै नदिको जल आराध्यदेव शिव पशुपतिनाथलाई चढाई दर्शन गर्ने गरिन्छ । वर्षभरी शिवरात्री, ऋषिपञ्चमी, एकादशी, पूर्णिमा र ग्रहण जस्ता महत्वपूर्ण पर्वहरुमा बागमतीमा नुहाई पशुपतिनाथको दर्शन गर्नाले सांसारिक दुःख कष्ट हरण हुनुका साथै मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । काठमाडौंका मानिसहरुका लागि मात्र हैन सम्पर्ण नेपालीहरुको लागि पशुपति आर्यघाटलाई सबैभन्दा ठूलो घाट मान्दछन् । मृत्यु शैयामा परिरहेका व्यक्तिलाई पशुपतिनाथको दर्शन गराई बागमती नदीको किनारमा निर्मित अद्र्धजलको तल्लो भागले नदीको पानीलाई छोएको हुन्छ । त्यसमा राख्दा मृत्यु भएमा वा त्यसमा राख्दा मृत्युहोस् भनी मानिसहरु ईच्छा गर्दछन् । आर्यघाट पशुपतिनाथको जल मिसिएको बागमतीको पानी ख्वाएमा चाँडै मुक्ति पाउँछ र सुविस्ताका साथ प्राण त्याग गर्न सकिन्छ भन्ने विश्वास पनि गर्दछन् ।
बागमती शंखमुलमा आइपुग्दा बागमती, मनोहरा र गंगाको त्रिवेणीमा परिणत हुन्छ । कुनै पनि नदीहरुको त्रिवेणी नेपाली समाजमा एउटा ठूलो तीर्थस्थलको रुपमा मान्दछन् । त्यसैले लिलितपुरको शंखमूलमा पुगेर बागमती झन पवित्र हुन गयो । काठमाडौं उपत्यकाका हिन्दू र बौद्ध दुवै परम्पराहरुका शंखमूल बागमतीको पानीमा रोग निको पार्न सक्ने शक्तिबारे धेरै कनथहरु छन् । “स्कण्ड पुराण” अनुसार चन्द्रले आफ्नो गुरु अगस्त्य कि पत्नी आफ्नी गुरु आमा प्रोसपतिसंग यौन सम्बन्ध राखी एक बालकलाई जन्म दिएका थिए । त्यो थाहा पाई गुरु अगस्त्यले चन्द्रलाई शारीरिक र बौद्धिक दुवै शक्ति नाश होस् भनी श्राप दिए तर चन्द्रले शंखमूलको बागमतीमा स्नान गरेको हुनाले यस पापबाट मुक्ति पाए । शंखमूलको बागमतिमा वर्ष भरि धार्मिक एवं सास्कृतिक मेला तथा पर्वहरु भई नै रहन्छ । काठमाडौंका बौद्धमार्गीहरुले चन्द्रमामा आधारित पात्रोको नवौं महिनामा मनाउने “गुँला” पर्वमा महिना भर नै नदीमा आई वालुवा र भातको मिसावट गरी ससाना चैत्यहरु बनाउने गर्दछन् र अन्तिम दिनमा ती चैत्यहरु दोभानमा लगी बिर्सजन गर्ने गर्दछन् । वसन्त पञ्चमीको दिनमा पनि बीस दिन लगातार शंखमूलमा मेला लाग्दछ । वसन्तको आगमनको खुशीयालीमा यो पर्व मनाइने गरिन्छ । यो पर्वको पहिलो दिन बागमतीलाई देवीको रुपमा मूर्त रुप दिई पूजा गर्ने चलन छ । स्वस्थानी व्रतकथा समाप्त भएको दिन स्वस्थानी पूर्णिमाको दिन पनि भक्तजनहरु शंखमूलको बागमतीमा आई नुहाई धुवाई गरी आफ्नो पूजा र व्रत समाप्त गर्ने गर्दछन् । बागमतीको किनारामा अवस्थित सबैभन्दा लामो र धेरै स्मारकहरु भएको क्षेत्र टेकू थापाथली हो । यस क्षेत्रलाई शाह राजाहरु र राणा प्रधानमन्त्रीहरु एवं नेपालका प्रतिष्ठित नागरिकहरुले भारतको बनारसको गंगाजीमा रहेको घाटहरु जस्तै गरी निमार्ण गर्न खोजेको थिए । यस क्षेत्रको सबैभन्दा महत्वपूर्ण बागमती र विष्णुमतीको संगम स्थल टेकू दोभान अर्थात चिन्तामणी तीर्थ हो । यो स्थान हिन्दू र बौद्ध दुवैको लागि अति पवित्र मानिन्छ । यहाँ बौद्ध चैत्यहरु र मन्दिरहरुको सुमधुर मिश्रण देख्न सकिन्छ । काठमाडौंका दक्षिणी भेगका बासीन्दाहरुका लागि यो सबैभन्दा महत्वपूर्ण घाट हो । टेकू दोभान भन्दा अलि तल पंचनारी घाटमा दशैको केही दिन अगाडि हुने पचली भैरवको जात्रामा मेला लाग्दछ । त्यस दिन त्यहाँ श्रदालुहरुले पचली भैरवको जल मिश्रित नदीको पानीमा स्नान गरेमा पापबाट मुक्त पाइन्छ भन्ने जनविश्वास राख्दछन् । बागमतीको पचली घाटको पारीपट्टी कालो पूल पारी राजघाटमा राजतीर्थ कुण्ड रहेको छ । त्यस कुण्डाको पानीमा विरेनूनको गन्ध र स्वाद आउँछ । राजतीर्थ कुण्डमा स्नान गर्नाले शरीर सधै तन्दुरुस्त भइरहने विश्वास गरिन्छ । नेपालका शाह बंशका राजाहरुको मृत्युपश्चात कृयापुत्री यसै घाटमा बसी नचोखुन्जेलसम्म सम्पूर्ण विधि विधानहरु यहीँ बसी गर्ने गर्दछन् ।
नेपाली संस्कृतिमा नदीहरुको अत्यन्तै महत्वपूर्ण भूमिका छ । केही वर्ष अघिसम्म जीवनको अन्तिम दिनहरुमा घाटहरुको स्वच्छ जलवायु र त्यहाँ रहेको देवदेवीहरुको छत्रछायाँमा बसी प्राण त्याग गर्नु नै सबै नेपालीहरुको अन्तिम इच्छा हुन्थ्यो । तर हिजोअजा प्रदूशित नदी र औषधोपचारको धेरै सुविधा भएको हुनाले मानिसहरुको यो इच्छा प्राय नगन्य नै भईसकेका छन् । मृतकलाई अन्तिम पटक नदीको जल खुवाउने गरिन्छ । भने चितामा जलाई सकेपछि अवशेष (खरानी) लाई पनि नदीमा नै बगाउने प्रचलन रहेको छ । मृतकको आत्माको शान्ति पूर्ण स्वर्ग लोकको यात्रा सहज बनाउने विश्वासका साथ मृत्युका दिन देखि बर्खान्तका दिन सम्म विभिन्न शुद्धीकरणका कृयाकलापहरु, श्राद्धहरु, दानहरु सबै नदीमा नै गई गरिन्छ । यसरी नदीमा पितृका नाउमा श्राद्ध एवम पूजाका माध्यम बाट गरिने दान र पिण्डहरु स्वर्ग लोकमा आफ्ना मृतक आत्माले प्राप्त गर्ने विश्वास गरिन्छ । बागमतीको संगम तीर्थहरु जम्मा ८८ वटा छन् । गोकर्णलाई चन्द्रभागा नदी र बागमतीको संगमस्थल ब्रह्म तिर्थ (उत्तर गया), गुहेश्वरीलाई मारदायिणी मणिमति र बागमतीको संगमस्थल शंकरतीर्थ, शंखमूललाई मणिमती र बागमतीको संगमस्थल शंकरतीर्थ, पचली(टेकू)लाई बागमती र केशावती नदीको संगम स्थल चिन्तामणी तीर्थको, दानिगा(दांगाखुसी) लाई बागमती र रत्नावतीको संगम स्थल प्रमोद तीर्थ, भाजंगललाई बागमती र प्रभावतीको संगमस्थल सुलक्षण तीर्थ, त्यसै नख्खु लाई प्रभावती र बागमतीको संगम स्थल जय तीर्थको रुपमा मान्दछन् । बातमती किनारमा रहेका यस्ता पौराणिक ऐतिहासिक धार्मिक महत्वका स्थलहरुको बारेमा नयाँ पिढिलाई जानकारी गराउने कसैले प्रयास गरेको देखिदैन । सरकारले पनि यस्ता विषयमा खासै चासे दिएको पाइएको छैन । आफ्नो अस्तित्वलाई मेटाउँदै यूएन पार्कको मात्र प्रचार गर्नु न्यायोचित त देखिदैन । यूएन पार्कका बागमतीको सभ्यता अनि यो सँग सम्बन्धीत जानकारी पनि राख्न सके मात्र बागमतीलाई न्याय मिल्ने छ ।