Shivpuri National Park

नेपालको राजधानी काठमाडौं उपत्यकामै रहेको नेपालको राष्ट्रिय निकुञ्जहरुमा सबैभन्दा सानो निकुञ्जको रुपमा परिचित शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौंको उपत्यकाको उत्तरी भागमा अवस्थित छ । यस निकुञ्जको उत्तरमा नुवाकोट, पूर्वमा चिसापानी, पश्चिममा ककनी र सम्म फैलिएको छ ।काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिको मुख्य स्रोतमध्ये एक हुनाले सन् १९७६मा शिवपुरी जलधार क्षेत्रअन्तर्गत रहेकोमा सन् २००२ मा देशकै कान्छो राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो । शिवपुरी डाँडालाई नेपालभाषामा सिफुचो भनिन्छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि शिवपुरी सेरोफेरोको एक दिने पदयात्राको सुरुवात बुढानिलकण्ठ मन्दिर परिसरबाट गर्न सकिन्छ । यस पदयात्रा अवधिमा बिच बाटोमा कहि कतै खाने होटेल तथा रेष्टुरान्टको ब्यवस्था नभएको हुँदा प्रत्येक पदयात्रीले आफूलाई आवश्यक खानेकुरा र पानी समेत साथमा नै लानुपर्ने हुन्छ । बुढानीलकण्ठ क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको अवलोकन पश्चात पदयात्राको सुरुवात गर्न सकिन्छ ।बुढानीलकण्ठ नारायण शेषशायी सिँगो कलात्मक शीलामूर्ति रहेको छ । यस नारायणको मूर्तिलाई उपत्यकाबासीहरु भुईजसी नारायण पनि भन्ने गर्दछन् ।

बुढानीलकण्ठ नारायणको प्रतिमाको मूर्तिको लम्बाई २० मी., १२ मी. चौडाइ र ३ मी( उचाइको छ । हरिबोधणी एकादशी, जनैपूर्णिमा, नागपञ्चमी, तथा कार्तिक महिना भरि नै विशेष मेला लाग्ने गर्दछ । त्यसै गरी विष्णुमती नदीको उद्गमस्थल विष्णु पादुका नजिक कृष्णप्रणामी अन्तराष्ट्रिय सँगठन इस्कोन रहेको छ । विष्णुमती अनेकौँ कथा, नागगुफा, प्राकृतिक ताल, कुण्ड, ढुंगाको कंकारो छेडेर गल्छी बनाएर बगेको छ । करिब २ किमी दुरी भित्र लम्बाइ १० हात लामो र ६ हात चौडाइको यहाँ नाग गुफा छ । अन्तराष्ट्रिय कृष्णप्रणामी सँगठन (इस्कोन) विष्णुमती नदी किनारामा ५० रोपनी क्षेत्रफल ओगटेर रहेको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्धार नजिकै सन् १९८४ मा विपश्यनाचार्य मणि ज्योतिको संयोजकत्वमा स्थापित ‘विपश्यना ध्यान केन्द्र’ रहेको छ । विपश्याना ध्यान करिब २ हजार ५ सय वर्षअघि भगवान बुद्धद्धारा प्रतिपादित एक किसिमको ध्यान विधि हो । राष्ट्रिय निकुञ्जको प्रवेशद्धारमा टिकट काटेर भित्र पस्ने बित्तिकै ठाडो उकालोबाट पदयात्रा सुरु गर्न सकिन्छ । घना जंगल, दाँया बायाँ हरिया रुखहरु, बीच ढुङ्गा ओछ्याइएको ठाडो उकालो बाटो ३ घण्टा उक्लेपछि शिवपुरीको टुप्पोमा पुग्न सकिन्छ । सानो निकुञ्ज भए पनि यहाँको हावापानी, भूवनोट र डाँडामा उत्तरबाट बहने चिसो हावा र दक्षिणी न्यानो भिरालो पाखाले गर्दा यहाँको जैविक विविधतामा प्रत्यक्ष प्रभाव परेकोे देख्न सकिन्छ । न्यानो भिरालो पाखामा लगभग १८०० मिटरभन्दा तल रानी सल्ला, चिलाउने र कटुसका वन फैलिएको पाइन्छ । निकुञ्जको माथिल्लो भेगका खोल्साका खोचहरुमा विशेष गरी उत्तिसको वन देख्न पाइन्छ । उत्तरी चिसो भिरालो पाखामा मौसमी प्रभावले गर्दा बाक्लो वन पाइदैन । पूर्ण रुपले संरक्षित वन भएको हुनाले यो निकुञ्जमा विविध वन्यजन्तुको बसोवास रहेको पाइन्छ । स्तनधारी जनावहरुमा हिमाली कालो भालु, चितुवा,रातो बाँदर, वन बिरालो र बँदेल प्रमुख रुपले पाइन्छन् । त्यसैगरी १७७ प्रजातिका चरा, १०२ प्रजातिका पुतली लगायतका अरु धेरै प्रजातिका कीरा, फट्यांग्राहरु पाइन्छ ।

Shivpuri National Park

मौसमले साथ दिएको खण्डमा शिवपुरीको टुप्पोमा पुगेपछि यहाँबाट देखिने दृश्यलाई नियाल्दा साच्चै प्रकृतिभन्दा ठूलो कलाकार कोहि छैन भन्ने भान मिल्छ । यहाँको मनोरमदृश्य कुनै कलाकारको अनुपम क्यानभास जस्तो लाग्दछ । यहाँ शिवपुरी बाबाले तपस्या गरेको ठाउँ छ । शिवपुरी बाबाको तपस्यास्थल यो चुचुरो वरिपरि पर्खाल उठाएर ठूलो मैदान बनाइएको छ । मैदानको पूर्वपट्टि शिवपुरी बाबाको शालिक स्थापना गरिएको छ । चौर करिब ५५ मिटर लम्बाई र २५ मिटर चौडा छ । चौरको पश्चिमतर्फ एक फिट जति अग्लो २० जना जति अटाउने चौतारो बनाइएको छ । चौरको पूर्वतर्फ शिवपुरी बाबाको वास्तविक आकारमा सेतो सालिक जस्ताले छाएको गोलाकार कुटीमा स्थापना गरिएको छ । चौर वरिपरि बाँसका ठूला रुख, गुँरास, अँगेराका रुख तथा चौतारी र निगालाका बुटयान देखिन्छ । भगवान शिवको क्रिडास्थल शिवपुरीबाट दक्षिणतिर अरु ससाना हरियालीयुक्त पहाड देखिन्छ । चैत्र र बैशाख महिनाको समयमा डाँडाभरी विभिन्न रङ्गका लालिगुराँस फुल्दा यहाँको सुन्दरतामा थप श्रृगार भर्ने काम गर्छ । यहाँबाट उत्तरतिर हेर्दा पश्चिममा अन्नपूर्ण, मनास्लु, हिमचुली र गणेश हिमालदेखि लाड.टाड. हुदै गौरीशंकर हिमालसम्म मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

शिवपुरी बाबाको आश्रमबाट पश्चिमतिर ढुंगेसिँढीहुँदै ओरालो र्झदा एउटा भीमकाय ढंगो छ । यो ढुंगालाई कामधेनु शिलाको रुपमा लिने गरिन्छ । कामधेनु गाईको महिमा हामीले पुराणहरुमा सुन्न पाइन्छ ।यी कामधेनु गाईहरुको सेवा गर्नाले मानिसको मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

प्रकृतिको काखमा हराउन र ध्यान गर्दै ज्ञानको खोजी गर्ने अनगिन्ती पर्यटकहरु शिवपुरी पुग्ने गर्दछन् । बागमती नदीको उद्गम स्थल बागद्धारमा हरेक वर्षको बैशाख १ गतेका दिन मेला भर्न हजारौं भक्तजनहरु पुग्दछन् । यस ठाउँमा २ वटा बाटो देख्न सकिन्छ । एउटा बाटो सिधा उत्तर लागे चिसापानी पुगिन्छ । पूर्व लागे २ घण्टामा नागी गुम्बा (१९००मि) पुग्न सकिन्छ । यहाँबाट बुढानिलकण्ठ पुगेर पदयात्राको अन्त्य गर्न सकिन्छ। निकुञ्ज परिसर भएकोले जंगलमा हिँड्ने बेलामा हल्ला गर्ने सिटि बजाउने ठूलो स्वरले कराउने गर्न मिल्दैन । शिवपुरी हुँदै लाड.टाड. गोसाइकुण्ड, हेलम्बु जस्ता ठाउँमा पदयात्रा गर्न सकिन्छ । शिवपुरी सेरोफेरोको एक दिने पदयात्राको सिल सिलामा जहाँ जति समय लगाएर हिडे पनि साँज ५ बजेभित्र निकुञ्जबाट बाहिरिनुपर्ने छ । यस शिवपुरी राष्ट्रिय निकुञ्जक पनि काठमाडौ वरिपरिको रमाइलो गन्तब्यहरु मध्यै पुग्नै पर्ने एक गन्तव्य हो ।

काठमाडौं बागमती सम्पदा

गठांमो पर्व