Rato Machindranath

काठमाडौं उपत्यका भित्र मनाउने विभिन्न जात्रा संस्कृतिहरुमा रातो मत्स्येन्द्रनाथको रथजात्रा नेपालको सबैभन्दा लामो जात्राको रुपमा लिइन्छ । मत्स्येन्द्रनाथ लाई विभिन्न धार्मिक सम्प्रदायहरुले विभिन्न नामले पूज्नेपूकार्ने गरिन्छ । साथै काठमाडौं उपत्यका र वरपरका विभिन्न ठाउँमा रातो मत्स्येन्द्रनाथको मूर्तिहरु रहेका छन् । ललितपुरको मत्स्येन्द्रनाथ रातो वर्णका भएकोले रातोमत्स्येन्द्रनाथ भनिएको हो । चोभारस्थित रातो मत्स्येन्द्रनाथ आदिनाथको नाउँले पूज्ने गरिन्छ्र । त्यस्तै भक्तपुर र दोलखामा पनि रातो मत्स्येन्द्रनाथको मन्दिर छन् । नाला र नमोबुद्ध(नमरा) स्थित मत्स्येन्द्रनाथहरु काठमाडौंका जस्तै सेतो वर्णका हुन् । मीननाथ पनि मत्स्येन्द्रनाथकै समूदायभित्र मानिन्छ । काठमाडौं उपत्यकामा प्रचलित बौद्ध धारणाअनुसार मत्स्येन्द्रनाथ बोधिशत्व वा लोकेश्वर रुपमा पूज्ने गरिन्छ । ललितपुरको मत्स्येन्द्रनाथलाई मद्यपाणि लोकेश्वर , चोभारको मत्स्येन्द्रनाथलाई आदिनाथ लोकेश्वर, नालाको मत्स्येन्द्रनाथलाई सृष्टिकान्त लोकेश्वर, काठमाडौंका मत्स्यन्द्रनाथलाई खसर्प वा अमोघपाश लोकेश्वरको नाउँले पनि पुकार्ने गरिन्छन । मत्स्येन्द्रनाथलाई शैव मार्गीहरु शिवको रुपमा पुज्छन् ।

मत्स्येन्द्रनाथको बारेमा अनेकन किम्वदन्ती प्रसिद्ध रहेको छन् । स्कन्दपुराणको एकाउन्नौं अध्याययअनुसार महादेवले पार्वतीलाई कुनै नदिको किनारामा अमरकथा सुनाउन लागेका थिए । पार्वती भने कथा सुन्दासुन्दै निदाइन ्। महादेवले पार्वती निदाएको चाल पाएनन् र निरन्तर कथा भन्दै गए । त्यसै बेला त्यहाँ नदिको छालले किनारमा फ्याकिएको माछाको पेटभित्र बाट हुर्किरहेको एउटा बच्चाले उक्त कथा सुन्दै अँ, अँ भन्दै आवाज निकालिरहेको थियो । केही बेरपछि महादेवले पार्वती तिर हेर्दा उनी निदाइरहेकी देखे । अनि अँ, अँ, भन्ने को रहेछ भनी महादेवले विचार गर्दा नगिचै रहेको माछाको पेटभित्रबाट आवज आएको चाल पाए । त्यस बालकलाई माछाको पेटभित्रबाट निकाली महादेवले भने ‘मैले सुनाइरहेको अमरकथाले तिमी अमर भयौ । माछाको पेटबाट जन्मेकोले तिमी मत्स्येन्द्रनाथ कहलिनेछौ । तिमी गएर मानिसहरुमा योगविद्यााको प्रचार गर’ ।
तदनुसार प्राणीहरुको मत्स्येन्द्रनाथ योगाभ्यासमा लागे र त्यसको प्रचार गर्न लागे । पछि मत्स्येन्द्रनाथको आग्रह अनुसार महादेव स्वंयले गोरखनाथको रुपमा अवतरित भई यिनैको शिष्य बनी यिनको काममा सघाउन थलोको कथा पढ्न पाउँछौ ।

मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याइएको किम्वन्दी अनुसार राजधानी भक्तपुर भएको समयमा राजा वरदेवको राज्यकालमा लामो खडेरी र अनिकाल प¥यो । यहाँ आएका गोरखनाथले रिसाएर यहाँका नागहरुलाई आफ्नो आशनमुनी दबाईराखेकाले पानी पर्न सकेको थिएन । उनका गुरु मत्स्येन्द्रनाथलाई यहाँ ल्याउन सकेमा मात्र उनलाई आशनबाट उठाउन सकिन्थ्यो । त्यसपछि मात्र बर्षा भई सहकाल फर्कन्थ्यो । त्यसैले राजा वरदेव कम उमेरका भएकोले राजकाजबाट सन्यासलिई धार्मिक जीवन बिताइ रहेका पूर्व राजा नरेन्द्रदेव, काठमाडा्रैंका तान्त्रिक आचार्य बन्दुदत्त र पाटनका ज्यापू तीनजनाका टोली कामाक्षाकामरुतिर मत्स्येन्द्रनाथलाई लिन प्रस्थान गरे । बाटोमा भेटिएको कर्कोटक नागराजलाई पनि टोलीमा समावेश गरी लगे । कामाक्षाकामारुमा पुगेर त्याँहाका यक्षराज शशी र रानी मायाका कान्छा छोरा मत्स्येन्द्रनाथलाई नेपाल मण्डलमा प्रस्थान गर्न बल्लतल्ल राजी गराए । मत्स्येन्द्रनाथले आचार्यलाई भने
‘म भमरा भई भागेर आउनेछु । म उडेर आएको बेला तिमीहरुले मलाई छोपेर कलशभित्र राख्नु पर्दछ’ ।
कामाक्षाकामरु बाट फर्केर ललितपुरको दक्षिणतिर पर्ने कोटपालतिर पुगेपछि आचार्यले राजालाई भमरालाई कलशभित्र थुन्न आवश्यक निर्देशन दिई आफू तन्त्रमन्त्र गर्दै भमरालाई आव्हान गर्न लागे । भमरा आउँदा राजा निदाइरहेको देखी आचार्यले आफ्नो खुट्टाले राजाको जीउमा झकझकाएर ब्यूँझाए । अनेक बाधा अड्चन हटाउँदै दुःखकष्ट खेप्दै उनीहरले मत्स्येन्द्रनाथलाई उपत्यकामा ल्याए । गोरखनाथले नागहरुलाई थिच्दै आसन कसिरहेको भनिएको ठाउँ कोटपालमा टोली पुग्दा उनी आफ्ना गुरु मत्स्येन्द्रनाथको दर्शनार्थ आसनबाट उठे । त्यसरी उठ्दा तत्कालै नागहरु छुटे र उपत्यकाभरि धुमधाम पानी पर्यो । सहकाल फर्कियो । मत्स्यन्द्रनाथलाई पाटनमा ल्याई पु¥याएपछि कहाँ प्रतिस्थापन गर्ने भन्ने विषयमा लामो बहस र छलफल भए । अन्तत पाटनमा नै प्रतिस्थापन गर्नै ठहर भयए अनुसार पाटनको तःबहालमा भव्य मन्दिर बन्यो । त्यसैगरी ललितपुरको दक्षिणमा पर्ने बुगंमतीमा अर्को मन्दिर बनाईयो साथै त्यहाँ बस्ती बसालियो । मत्स्येन्द्रनाथलाई केहि समय बुंगमतिमा र केहि समय पाटन तःबहालको मन्दिरमा विराजमान गराउने परम्परा बसालियो । फेरि मत्स्येन्द्रनाथबाट गोरखनाथलाई मेरो सन्धिमा बस भन्ने आज्ञा अनुसार उनी पाटनको उत्तरी भाग शंखमूललाई तीर्थस्थल तुल्याई बसेको छ । हाल शंखमूलमा गोरखनाथको भव्य मन्दिर रहेको छ । गोपालवंशावली अनुसार राजा नरेन्द्रदेवले नै मत्स्येन्द्रनाथको वार्षिक जात्रा चलाएको विश्वास गरिन्छ ।

machindranath

मत्स्येन्द्रनाथको मन्दिर भित्र गरिने अनेकन पूजाकर्म विधिहरु धेरै छन् । मन्दिर बाहिर सार्वजनिक रुपमा गरिने प्रमुख विधिहरुमाः

१) न्हवं वा महास्नान
बैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट उहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याइन्छ । उक्त मन्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएका चोखोपानीले भरिएको घडा बोकि चार दिशामा उभिएर मन्त्रोच्चारणका साथ विधिपूर्वक स्नान गराईन्छ । सोहि दिनको मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिढीमा राखिन्छ । त्यही राखि केलेवर फेर्ने प्रक्रियाअन्तर्गत नबिकरणको काम केहि दिनसम्म सम्पन्न गरिन्छ । नवीकरणको लागि चाहिने माटो म्हैपी डाँडाबाट ल्याइन्छ । नवीकरणपछि मन्दिरभित्र पुनःसंस्थापित गरिन्छ र केही विधिकर्म पनि गरिन्छ ।

२) रथारोहण
वैशाख कृष्णपक्षको अवधी भरी तःबहालमा नवीकरण विधि चलिरहँदा पुल्चोकमा रथ निमार्ण गनेै कार्य पनि अघिबढाइएको हुन्छ । यो ३२ हात अग्लो रथ काठका बलिया थाम, दलिन आदिलाई बेतले बाँधेर बनाइएको हुन्छ । चार ठूला पाड्.ग्रामा अडाइएका धुरामाथि यो रथ ठडाइन्छ । पाड्.ग्राको धुराबाट एउटा लामो काठलाई ढल्मा भनिन्छ यसलाई कर्कोटक नागको प्रतिक मानिन्छ । यसको घुमाउरो टुप्पोमा तामाको भैरवको मुकुण्डोले सजाइन्छ । क्रियात्मक रुपले ढल्माको काम रथलाई मोड्ने स्टियरिड. जस्तो साधन हो । चारै पाड्.ग्रामा भैरवको मुर्ति चित्रित गरिन्छन् र तीनमा रथचक्र भरिया बस्छ भन्ने धारणा राखिन्छ । सम्पूर्ण रथ एउटा मन्दिरको रुपम निमार्ण गरिएको हुन्छ । रथको गजुरदेखि तलसम्म ठाउँठाउँमा देउताहरुको अनेक स साना मूर्तिहरु र प्रतिकहरु स्थापित गरिएका हुन्छन् । धातुबाट बनेका नेपालको झण्डा, चन्द्रसूर्य पनि सजाइएको हुन्छ । बैशाख शुक्ल प्रतिप्रदाको दिन मत्स्येन्द्रनाथको मूर्तिलाई बाजागाजा सहित धूपबत्ती बाल्ने, स्तोत्र पाठ गर्ने, लावालस्करका साथ तःबहालबाट पूल्चोकमा ल्याएर रथारोहण गरिन्छ । त्यस दिन रथ अलिकति फर्काइन्छ मात्र, तानिदैन । मत्स्येन्द्रनाथको मुर्तिसहितको रथ त्यहीं तीन दिन तीन रात राखिन्छ । यसैबचि मत्स्येन्द्रनाथको देवाली पूजा पनि त्यही गरिन्छ ।

३) रथयात्रा
रथारोहणकको चौथोदिन अर्थात अक्षय तृतीयाको दिन मीननाथको मूर्ति मत्स्यन्द्रनाथकै जस्तो तर निकै सानो रथमा तानेर टंगलबाट पुल्चोकमा ल्याइन्छ । त्यस अवसरमा गुरुजुको पल्नट शार्दूलजड्.ग पल्टन पनि जात्रामा सहभागि हुन्छ । राजा नरेन्द्रदेवको प्रतीक भक्तपुर दरबारबाट उनैको मानिने एउटा पुरानो तलबार सजधजकासाथ ल्याईपु¥याइन्छ । अनि रथ तान्ने प्रक्रिया सुरु हुन्छ । मीननाथको सानो रथ अगाडि अगाडिछ तानिन्छ भने मत्स्येन्द्रनाथको रथ पछाडि पछाडि । बाजागाजा, स्तोत्र पाठ साथै रथ तान्ने , तान्नलाई निर्देशन दिने मानिसहरुको ठूलो भिड र होहल्लाको बीच रथ तानिन्छ । यो रथ तान्दा हेरक पटक निश्चित स्थानमा पु¥याई विश्राम गराईन्छ । उक्त विश्राम स्थलमा रथ पु¥याएपछि र अर्को पटक सुरुका बखत हर्सोउल्लासका साथ गुर्जु पल्टनद्धारा तोप पड्काउने प्रचलन रहेको छ । तर तोकिएको ठाउँसम्म लान नसकेका बीच बीचमा पनि रोकिन्छ । रथ तान्ने क्रममा कहिलेकाहीं दुर्घटना पनि हुन्छ । यस्ता ठूल्ठूला दुर्घटनाको चर्चा वंशावलीहरमा पनि गरिएको पाइन्छ । यो रथयात्राको क्रममा रथ केहि दिन लगाएर पुल्चोकबाट गाःबाहाल, महापाल, मंगलबजार, सुनधारा, महाबौद्ध, थैना, टंगल लगनखेल हुदै थतीटोलमा पुयाइन्छ । यी बाटाहरुको बीचमा पनि भुजायाः जस्ता केही परम्परागत पूजा गरिन्छ । प्रत्येक बेलुका र भोलिपल्ट बिहान रथ रोकिएको ठाउँमा भक्तजन र दर्शनार्थीहरुले पूजाआजा गर्ने, बत्ती बाल्नेको घुइँचो र बजार लाग्ने गर्दछ ।

४) नरिवल खसालिनु
टंगलबाट तानिएको रथ लगनखेलनिर निश्चित ठाउँमा रोकिन्छ । त्यहाँ केही पूजाविधि सकेपछिरथको टुप्पाबाट एउटा सिड्.गो नरिवल खसालिन्छ । त्यस दिन खसालिने नरिवल टिप्नलाई रथको वरिपरि दर्शनार्थीहरुको ठूलो भिड लाग्ने गर्दछ । उक्त नरिवल टिप्न सके आफनो मनोकाञ्छा पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । त्यसैले उक्त नरिवल टिप्न धूमधाम ठेलमठेल र किचाघान हुन्छ । उक्त नरिवल टिप्न सफल भएको मानिसले नरिवलका साथै दक्षिणा थपी मत्स्यन्द्रनाथलाई नै चढाइन्छ । रथको सामुन्ने र दायाँबायाँ खुल्ला ठाउँमा यो रमिता हेर्न आउने हजारौं दर्शकहरुको भीड हुन्छ । यो प्रक्रियापछि मत्स्येन्द्रनाथको रथ तानेर अलिकति पर निश्चित ठाउँमा अडाइन्छ । अनि जाउलाखेल लैजाने साइत नजुरेसम्म विश्राम गराइन्छ ।

४) भोटो देखाउने जात्रा:
साइत जुरेको दिन रथलाई थतीटोलबाट जाउलाखेल स्थित मण्डप सम्म तानेर पुु¥याइन्छ । बीच बाटोमा अवस्थित कुमारीपाटीमा पाटनकी जीवित देवी कुमारी यो रथयात्रा दर्शन गर्ने प्रतिक्षामा रहेकी हुन्छिन् । यहाँ रथ एकैछिन रोकिन्छ र केही परम्परागत विधि पु¥याइन्छ ।
जाउलाखेलमा रथ पुगेको चौथो दिन मत्स्येन्द्रनाथको जिम्मामा रहेको हिरा मोती जडित बहुमूल्य पुरानो भोटो दर्शकलाई देखाइन्छ । यहि प्रक्रियालाई नै भोटोजात्रा भनिएको हो । यस दिन बिहानै देखि भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ हुन्छ । अपरान्हतिर राजपरिवारको सदस्यहरुको समेत सावारी भई भोटोजात्रा दर्शन गर्ने प्रचलन रहि आएकोमा हाल देशका राष्ट्रपतिको उपस्थितिमा भोटो जात्रा सम्पन्न गर्ने गरिन्छ ।

कर्कोटक नागले आफ्नी नागिनीको आँखा दुःखेको निको पारिदिने किसानलाई रिझाए बापत उपहार दिएको भनिएको रत्नजडित भोटो नै यो जात्रामा देखाइन्छ । यसरी भोटो देखाउनुको कारण उहिलेका नागिनीबाट बक्सिस स्वरुप पाएको भोटो किसानले खेतमा काम गर्दा खोलेर राखेको ठाउँबाट हराउँछ । पछि जात्रामा मनुस्यको रुपमा आएको भूतले आफ्नो भोटो लगाएको देखेपछि चिनेर समात्यो । दुबैको बीच उक्त भोटोको विषयमा घम्साघम्सी पर्यो । आखिर दुबैजना राजा नरेन्द्रदेवको हजुरीमा लगिए । कसैबाट पनि सन्तोषजनक प्रमाण पेश गर्नेले त्यो भोटो पाउनेछ र सो नभएसम्म त्यसको सुरक्षाको लागि श्री मत्स्येन्द्रनाथको जिम्मामा राखिनेछ भनेर राजाले फैसला सुनाए । अनि हरेक वर्ष जात्रा सिद्धिने दिन जाउलाखेलमा असंख्य नरनारीहरुको भेला हुने ठाउँमा उक्त भोटो सुरक्षित छ भन्ने विश्वास दिलाउन त्यो भोटो देखाउने परम्परा रहि आएको छ । भोटोजात्रा सकेपछि मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा बोकी बाजागाजा लावालस्कर सहित जाउलाखेलबाट बुड.मतिस्थित मन्दिरमा पुु¥याइन्छ । मीननाथको रथलाई भने तानेर टंगल पु¥याई जात्राको विसर्जन गरिन्छ ।

५) बाह्रवर्षे जात्रा
बाह्र वर्षमा एकचोटी मत्स्येन्द्रनाथको रथयात्रा पुल्चोकबाट प्रारम्भ हुनको सट्टा बुङमतीमा नै फिर्ता लगिन्छ । यसरी ल्याइँदा र फर्काइँदा रथले नक्खु खोला दुईपल्ट तर्नु पर्दछ । यस अवसरमा श्रद्धालु भक्तजनहरु खोलामा नुहाउँछन् । ठूलो मेला लाग्ने गर्दछ । रथलाई नखुखोला तार्दा किम्वदंन्ती अनुसार कर्कोटक नागराज विरक्त भई मत्स्येन्द्रनाथमा लीन भएपछि नागिनीले लोग्नेसँग विछोड भएकोमा पछुताउँदै मत्स्येन्द्रनाथसमक्ष घोर बिलौना गरेकोले करुणा राखी मत्स्येन्द्रनाथले उनलाई बाह्रवर्षको एकचोटि लोग्नेसँग भेटघाट गर्ने मौका दिने वचन दिएअनुसार यो बाह्रवर्षे जात्रा बुङ्मतीदेखि बुङमतीसम्मै गरिएको कथन रहेको छ । त्यस अवसरमा नागिनी ठूलो आड्.क्षा लिई नक्खु खोलामा श्रीमानको प्रतिक्षा गरिरहन्छ । उक्त खोला सानो भए पनि ठूलो आवाजले बगिरहनाको कारण नागिनीको करुणा क्रन्दन हो भनिन्छ । बाह्र वर्षे रथायात्राको अवसरमा रथ बुङमती फर्केपछि अपार भीडको बीच फेरी एकचोटी भोटो देखाइन्छ । त्यसपछि मात्र बाह्रवर्षे रथायात्रा सम्पन्न गरिन्छ ।

जनैपूर्णिमा र भ्यागुताको भोज

कुशे औँसी र गोकणेश्वर महादेव