Gokarneshwor Mahadev Temple

काठमाडौंको पशुपतिनाथको मन्दिरदेखि करिब ३ किलोमिटर उत्तरमा वाग्मती नदीको पश्चिम तटमा गोकर्णेश्वर महादेवको मन्दिर अवस्थित छ । पुरानो पशुपति वा उत्तरगया उपनामबाट प्रख्यात गोकर्णेश्वर महादेव, काठमाडौं  बौद्धदेखि ५ किलोमिटर उत्तर तर्फ सुन्दरीजल जाने बाटोमा रहेको छ । गोकर्ण भएरै सुन्दरीजल जाने बाटो अगाडि बढेको छ । सूर्यमती, चन्द्रमती र वाग्मती नदीको सँगम त्रिवेणीस्थित गोकर्णेश्वर महादेवस्थान बौद्ध धर्मावलम्बीहरुको माझमा उत्तरगयाको नामले प्रख्यात रहेको छ ।बौद्ध धर्मावलम्बीहरुको १२ तीर्थस्थलमध्ये गोकर्ण पनि एउटा मुख्य तीर्थस्थल भएको हिमवत् खण्डमा उल्लेख छ ।

गोकर्णेश्वर महादेवको उत्पतिकको बारेमा अनेकन किम्वन्तीहरु रहेका छन् । पाशुपत क्षेत्र मृगस्थलीमा मृगको रुपमा  पशुपतिनाथश्लेषमान्तक वनमा घुम्न आउँदा स्वर्गमा महादेव हराएको हल्ला फिँजिएछ । एक सिँगे मृगको रुप धारण गरी गोकर्णको जंगलमा विचरण गरिरहेका भगवान् शिवलाई  चिनेर ब्रम्हा, विष्णु र इन्द्रभगवानले समातेरआफ्नो अधीनमा राख्न खोज्दा सिँङ्ग तीन टुक्रा भई तीनै देवताको हातमा एक, एक टुक्रा पर्न गएछ । तीन देवताको हातमा रहेको मृगको सिँङ्गलाई विष्णुले पातालमा, इन्द्रले स्वर्गमा र ब्रम्हाले जमिनमा अर्थात् मृगको सिङ्गको एक टुक्रालाई शिवलिङ्गको रुपमा ब्रह्माजीले गोकर्णमा गोकर्णेश्वर महादेवको नामले स्थापित गरेको कुरा नेपाल माहात्म्यमा उल्लेख भएको पाइन्छ । यहाँ वाग्मती नदीमा स्नान गरेर गोकर्णेश्वर महादेवको पूजा गर्नाले कैलाशधामको गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । भाद्रकृष्ण औँसीको दिनलाई पिता एवं पूर्वजनहरुप्रति श्रद्धा आदर प्रकट गर्ने दिनका रुपमा लिइन्छ । यस दिनलाई पिताको मुख हेर्ने दिन पनि भन्दछन् । जीवित पिता प्रति आदर गर्ने एवं मुख हेर्ने भनेको दर्शन ढोग गर्ने दिन पनि हो । पिता दिवड्.गत भएकाहरुले यहाँ गोकर्णेश्वरमा आई वाग्मतीको तटमा तर्पण श्राद्ध गर्ने परम्परा रही आएको छ । वाग्मती तटमा रहेको गोकर्णेश्वरलाई उत्तर गया पनि भनिन्छ । यहाँ पितृ श्राद्ध गरेमा ठूलो पुण्य मिल्छ भन्ने कुरा नेपाल माहात्मा हिमवत्खण्डमा उल्लेख भएको छ ।

Gokarneshwor Mahadev TemplePhoto Credit: Hari Gopal Pradhan

भाद्रमासे त्व्मास्वयां तिथौ गाकर्ण सन्निधौ ।
अत्रैव पिण्डदानस्य त्रिसप्तं प्रोद्धरेत् कुलम् ।।

यस दिनको औसीलाई कुशे औसी वा गोकर्ण औँसी भन्ने चलन रहेको छ । यसै दिन कुश उखेली वा काटी राख्ने र त्यही कुशले वर्षभरी देवकृर्या र पितृकार्यमा प्रयोग गर्नुपर्छ भन्ने धार्मिक एवं शास्त्रीय मान्यता रहेको छ ।

बैशाख मातृ औँसीको दिन आमा नहुने हिन्दू धर्मावलम्बीहरुथानकोट स्थित मातातीर्थ पुग्छन् भने भाद्र कृष्ण औँसीको दिन बुवा नहुनेहरुले पितृको नाउँमा गोकर्ण त्रिवेणी मा श्राद्ध गर्नेको ठूलो भीड लाग्ने गर्दछ । यस दिनको बारेमा रहेको किम्वदंन्ती अनुसार एक देहव्यापारी केटीले एक दन्तुर नामक  छोरा जन्माईन् । बच्चा हुर्कदै जादा बच्चाले आफ्नो बाबुको बारेमा धेरै सोधि खोजी गर्न थाले । तर स्वयम आमाले आफ्नो बच्चाको बुवा को हो भन्ने थाहा पाइनन् । ठूलो भईसकेपछि दन्तुरले आफ्नो पिता अभावको पीडा पुलह नामक ऋषिसामु राखेछन् । पुलह ऋषिको सल्लाहअनुसार गोकर्णेश्वर त्रिवेणीमा नुहाएर आफ्ना पिताको नाममा पितृ तर्पण दिन जाँदा दन्तुरलाई सम्पूर्ण पितृले म तिम्रो पिता हुँ भन्दै छोरा पुकारी बोलाउन थालेछन् । तर अलमलमा परेका दन्तुरलाई स्वयम सृष्टिकर्ता भगवान ब्रम्हाले वास्तविक पिता चिनाउँदै पितृ श्राद्ध गराएछन् । आफ्नो पितालाई चिनेर पिण्ड तर्पण दिएको भाद्र कृष्ण औँसीको दिनलाई त्यसै बेलादेखि पिताको मुख हेर्ने पर्वका रुपमा मनाउन थालिएको बताइन्छ ।

त्रिवेणी नदीको किनारमा स्थापित तीनतल्ले खपट छानायुक्त पेगोडा शैलीको मन्दिर पशुपतिनाथ भन्दा पनि प्राचीन मानिन्छ । प्राचीन पशुपति हेर्नुछ भने गोकर्ण जानु भन्ने उखानले पनि उक्त भनाई लाई प्रमाणित गर्दछ । भारतको तीर्थस्थल भ्रमणमा जानुअघि पितृ श्राद्ध गरी शरीर शुद्धि गरेर विदाई लिने परम्परा रहेको छ ।  गोकर्णेश्वर महादेवको मन्दिर वरपर थुप्रै मूर्तिहरु स्थापना गरिएका छन् । मन्दिरको पूवी भ¥यांगबाट मन्दिर तर्फ अघि बढ्दा  देवस्थल वरिपरि बुद्ध, राम लक्ष्मण, सीता, कृष्ण, सरस्वती, लक्ष्मी, भैरव, बलभञ्जन पाण्डे, विष्णु, ब्रम्हा, नन्दी भृङ्गीका मूर्तिहरु क्रमशः सजाइएका छन् । त्यसैगरी मन्दिरमा नेपालको झन्डा बोकेको वायुदेव, सीता, दुर्गा, गौरी, मञ्जुश्री, गंगा, बासुकी  नारायण, कामदेव, धन्वन्तरी, चन्द्र, सूर्य, गणेशका मुर्तिले गोकर्णेश्वर तीर्थस्थललाई धार्मिक तथा पुरातात्विक सम्पदाको फूलबारी बनाएको छ । गोकर्णेश्वर महादेवको प्रांगण वरिपरिका भग्नावशेषमा पीपल उम्रिएको जीर्ण देवस्थल छरपस्ट देखिनुले देवस्थल पुरातात्विक प्राचीन अस्तित्व रहेको झल्किन्छ । यहाँ प्राप्त शिलालेख अनुसार मन्दिरमा भिंmगटीको छाना ने.सं ५०२ मा गोपिरन भारो श्रेष्ठले लगाएका हुन् ।

Gokarneshwor Mahadev TemplePhoto Credit: Hari Gopal Pradhan

गोकर्ण वन र लंकापति रावण

रावणको वास्तविक नाम दशाना हो । रावणकोजन्मको विषयमा विभिन्न ग्रन्थहरुमा धेरै कुरा उल्लेख गरेको पाइन्छ । रामायणको एक मुख्य पात्रको रुपमा चिनिने लंकापति रावणको दसवटा टाउकाहरुप्रतीकात्मक हुन् ।  उसमा दस मनुष्यको जति बल र बुद्धि थियो भन्ने विश्वास गरिन्छ । दसवटा टाउको भएको रावणले १२ वर्ष सम्म तपस्या गरी महादेवबाट तीनैलोकको सर्वाधिक शक्तिशाली राजा बन्ने वरदान प्राप्त गरेको ऐतिहासिक वनलाई हाल गोकर्ण सफारी वनको रुपमा चिनिन्छ । गोकर्णेश्वर महादेवस्थानबाट पनि छिर्न सकिने गोकर्णपार्क जोरापटीबाट साँखु जाने बाटो हुँदै जाँदा सहज हुने गर्दछ । तीन सय ३० फिट अग्ला स साना डाँडासहित एक वर्गकिमी क्षेत्रफलमा फैलिएको गोकर्ण  पार्क ठूल्ठूला पतझर तथा सदावबहार रुखले ढाकिएको छ । वनभित्र चित्तल, साम्बर, रतुवा, मृग, चितुवा, बाँदर मयूर जस्ता पशुपंक्षी देख्न सकिन्छ । गोकर्ण सफारी पार्कलाई राणा प्रधानमन्त्री जंगबहादुर राणाले रजनीकुञ्ज नाउँ दिई वनको वरपर चारैतिर पर्खालले घेरा हाली बगैँचाको रुपले सुसज्जित बनाउने अभियान थालेका थिए । जहाँ पिकनिकस्थल बनाइएको छ । हिजोआज यहाँ विभिन्न ठाउँबाट मान्छेहरु पिकनिक आउने गरेका छन् ।

 

रातो मत्स्येन्द्रनाथक रथजात्रा

गौरा र तीज पर्व