नेपालीहरु धुमधामसँग मनाउने चाड हो बडा दशैं । यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । विभिन्न जातजातिले आ आफ्नै तरिकाले दशैं मनाउँदै आएको पाइन्छ । विजया दशमीको रुपमा लिने यस चाडको प्रतिपदादेखि नवमीसम्मका दिनलाई नवरात्रि(नौरथा) भनिन्छ । यस दिन प्रत्येक हिन्दूहरुका घर घटस्थापना गरी जमरा राखेको दिन बाट सुरु हुन्छ दुर्गा भवानीको पूजा । दसैंका दिनमा हनुमानढोका लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा खड्गसिद्धि गर्ने परम्परा रहेको छ ।धेरै प्रकारका खड्ग लिइने मध्ये दसैंको समयमा लिइने यस खड्ग भिन्नै प्रकारका हुन्छन् र यसको महत्व ठूलो छ । देवी देवताले ग्रहण गरिने विभिन्न आयुधहरु मध्ये खड्ग पनि एक हो । त्यसबाहेक धर्मपाल, चण्डी, रुद्रको प्रतिक अर्थात जन्म जन्मान्तरको शत्रुनाश गर्ने तत्वको रुपमा पनि लिइन्छ । खड्को उत्पतिको बारेमा महाभारतको शान्तिपर्वमा विस्तृत वर्ण गरिएको पाइन्छ। हिन्दूशास्त्रको मान्यताअनुसार खड्को उत्पति अधर्म निवारण तथा शत्रुनाशको लागि भएको हो ।बौद्धधर्मग्रन्थमा गड्खको प्रयोग मञ्जुश्रीको समयदेखि भएको वर्णन पाइन्छ । यसरी खड्को ऐतिहासिक हिन्दू तथा वौद्ध दुबै धर्मग्रन्थहरुमा उल्लेख भएका छन् ।
नेपालमा प्रायजसो दुई प्रकारका खड्ग प्रचलित रहेको पाइन्छ । पहिलो लमो तर चौडाई कम भएको र अर्कौ लम्बाई छोटो तर चौडाई मोटो भएका खड्गहरु हुन् । लामो खालको खड्गलाई शुभमङ्गल तथा सौभाग्य शाली मानिन्छ ।खड्को प्रकारअनुसार त्यसको लक्षण पनि फरक हुन्छ। जस्तो ५० अंगुल भएको अधम र अशुभ मानिएको छ । विच्छु आकारको, छोटो दाग भएको शदरहित खड्गलाई अनिष्टकारी मानिन्छ ।गाईको जिभ्रोसमान आकार भएको र नीलो कमलको पातसमान भएको खड्ग राम्रो मानिन्छ । खड्ग एउटा अस्त्र हो । यसको प्रयोग देवताहरुको पालादेखि नै हुँदै आएको कुरा माथि उल्लेख भइसकेको छ । यसको महत्व धार्मिक, राजनैतिक दार्शनीक तथा सांस्कृति दृष्टिकोणबाट पनि आफ्नै किसिमको महत्व छ ।समाजमा खड्गलाई केवल एउटा अशस्त्रको रुपमा मात्र नभइ यो शब्दलाई स्थान, वस्तु तथा तत्वसित जोडेर हेर्ने गरेको पाइन्छ । त्यस बाहेक खड्गलाई देवदेवीको प्रतिक, विजयको प्रतिक र राजाको प्रतिनिधिको रुपमा पनि लिइन्छ। खड्गसिद्धिबाट शक्तिप्राप्त भई शत्रुमाथि विजय प्राप्त गर्नुका साथै आफ्नो मनोकांक्षासमेत पूरा हुने शास्त्रीय कथन रहेको हुनाले प्राचीनकालदेखि खड्को विशेषपूजा र उपयोग हुँदै आएको छ।त्यसैले राजा महाराजाहरु युद्धमा प्रस्थान गर्दा, एक अर्काले शुभकामना ब्यक्त गर्दा र आर्शिवाद दिंदासमत खड्सिद्धिरस्तु वा खड्गसिद्धि जयकामनार्थ भन्ने प्रचलन रहेको छ । खड्सिद्धि लिने परम्परा भगवान ब्रह्मास्वय्मबाट भएको बताइन्छ । महाभारतको शान्तिपर्वमा ब्रह्माजीले जगतको रक्षा तथा देवद्रोही असुरहरुको विनाशका लागि खड्गको उत्पति गरी भगवान रुद्रलाई प्रदान गरेको थियो । भगवान रुद्रले पनि त्यो तेजस्वी खड्ग हातमा लिएर चतुर्भूज रुपधारणा गरी सबै असुर तथा शत्रुहरुको विनाश गरेको उल्लेख पाइन्छ ।
प्रत्येक ५ वर्षमा मखन तारणी बहाल सिंहदोबाटेमा भद्रकालीसँग र प्रत्येक १२ वर्षको एकपल्ट काष्ठमण्डपमा भूतिसःअगाडि राष्ट्रप्रमुख र किराँती राजाको वंजज गथुमाली पचली भैरवसँग खड्ग साट्ने दशैको मौलिक परम्पराभित्र पर्दछ । विजया दशमीको राति यसरी खग्ग साट्नाले राज्यस्थिर भई शान्ति कायम हुन्छ भन्ने मान्यता छ । राजा गुणकामदेवद्धरा काठमाडौं नगर व्यस्थित गर्दा प्रतिस्थापित गणदेवताहरुमा पचलीलाई बिँड र म्हेपीलाई शिर पर्ने गरी मञ्जुश्रीको खड्गकार बनाएका थिए । चारैतिर स्थापित अष्टमाृतका मध्ये भद्रकाली र पचली कडा पीठका रुपमा लिइने हुँदा यी दुईबाट विघ्न नपरो भनी राष्ट्रप्रमुले खड्ग साटेर शक्ति स्थिर गर्नुपरेको कथन छ । वि.सं. २०५५ सालमा स्वर्गवासी राजा विरेन्द्र र वि.सं.२०६० सालको विजया दशमीमा तात्कालीन राजा ज्ञानेन्द्रसँग खड्सिद्धि लिइएको थियो ।
नेपालमा खड्गसिद्धिको इतिहास केलाउँदा लिच्छविकालसम्म पुग्न सक्छौं । तत्कालीन पुरातात्विक तथा ऐतिहासिक कुराहरुको अध्ययनबाट खड्गसिद्धिको बारेमा केही जानकारी लिन सकिन्छ । लिच्छविकालमा कोत र मल्लकालमा क्वाथको धेरै महत्व हुनु र हाल उपत्यकामा प्रचलित खड्गसिद्धि र खड्गजात्राका साँस्कृतिक कार्य धेरैजसो कोतघरबाट संचालन हुने परम्पराले लिच्छविकालीन कोतबाट पनि ती जात्रा उत्सवहरु संचालन हुन्थ्यो भन्न सकिन्छ । काठमाडौं उपत्यकामा यो जात्रा धेरैजसो ज्यापू समुदायबाट संचालन हुँदै आएका छन् ।यटखा, कोहीटी, महाबौद्ध, वटु, टेबहाल, किलागल, हाडीगाउँ, पशुपति, टोखा, ठसि, लुभू, बलम्बु आदि ठाउँमा संचालन हुने खड्गसिद्धि र खड्गजात्रा ज्यापू समुदायले नै चलाउँदै आएका छन् । त्यसकारण सो जात्राा प्रारम्भ हुनुभन्दा अगाडि दिइने खड्सिद्धि पनि त्यसै समुदायका मानिसहरुले लिन्छन् । त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरका विविभन्न जातिले मनाइे सबैजसो खड्गजात्रामा ज्यापूहरुको सहभागिता हुन्छ । तिनीहरुले यस जात्राको बेलामा आफ्नो बाजा अतिरिक्त बौःपा समाउने, बौ मन्स्याउने, कुभिण्डो समाउने कार्य गर्छन । उपत्यकाका अधिकांश ठाउँको खड्सिद्धि र खड्गजात्रामा महत्पूर्ण भूमिका निभाउने ज्यापू समुदायलाई नेपालको प्राचीन जाति मानिन्छ । ज्यापू समुदाय लिच्छविकालीन देखिनु र खड््गसिद्धि तथा खड्गजात्रामा तिनीहरुको अह्म भूमिका रहँदै आउको आधारमा यो जात्रा ऐतिहासिकता पनि प्राचीनकालसम्म पुग्न सकिन्छ ।
मध्यकालमा काठमाडौँं उपत्यकाभित्र खड्गसिद्धिले ठूलो महत्व पाएको थियो । मध्यकालको प्रारम्भ देखि नै विभिन्न क्वाठहरुमा खड्ग स्थापना तथा पुजा गरी खड्गसिद्धि लिएका घटनाहरु तत्कालीन ऐतिहासिक स्रोतहरुमा वर्णन गरिएको छ । यसै सिलसिलामा ने.सं. ३९१ (वि.सं.१३२८)को पुस्तिका नं.२२० मा खड्गपूजा विधिको चर्चा गरिएको छ । प्रत्येक वर्ष संचालन हुने खड्गसिद्धिको उत्सव मध्यकालीन दरबार, कोतघर विहार, द्योःछेँ लगायतका आगमघरहरुमा समेत मनाइन्छ ।जसमध्ये द्योःछेँमा संचालन हुने खड्गसिद्धि अन्तर्गत काठडमौं उपत्यकाका तीन्र सहरको चारैतिर अष्टमातृका तथा नवदुर्गा देवीका पीहरुको स्थापना गरेको पाइन्छ । उपत्यकाका धेरै जसो द्योःछेँ महर्जन जाति विशेषमा सीमित छन् । यस्ता द्योःछेँहरुमा सामुहिक रुपमा सबै गुठियारहरु भेलाभई दशैँचाड मनाउँछन् । आश्विन शुक्ल अष्टमीको दिन थकालीको घरबाट पूजाल्याई बौःराख्ने, थापं राख्ने, खड्गमा शक्ति साधना गर्ने आदि धार्मिक तथा सांस्कृतिक कार्यहरु हुन्छन् ।नवमीको दिन पशुबलि दिई बलिपूजा गरिन्छ ।दशमीको दिन सम्बन्धित पुजारी तथा थकालीबाट तान्त्रिक पद्धतिले द्योःछेँस्थित देवदेवीको पूजा विसर्जन गरी गुठी सदस्यहरुलाई शक्ति सन्निहित खड्ग समर्पण गर्दै खड्गसिद्धि दिने परम्परा छ ।
उल्लेखित कोतघर र द्योःछेँबाट संचालन हुने यस उत्सवमा विशेषताया अष्टमातृकागणलाई खड्गसिद्धि दिने चलन छ । नेवार समाजमा दशमीको दिन सबैले आ आफ्नो घरमा देवी विसर्जनपूजा गरी जमरा निकाल्ने कलशको पानीबाट अभिषेक लिने, रातो अक्षता, कालोमाहनी टीका लगाउने, कोखा(रातो र सेतो कपडाको माला ) लगाउने, देवीलाई चढाएको वस्तुहरु प्रसादको स्वरुपमा ग्रहण गर्ने, सगुन तथा सम्ह्य खाने, अष्टमीको दिन स्थापना गरेको वस्तुहरु चालन गर्ने र मान्यजनबाट आर्शीवाद लिन्छन् । खड्गसिद्धिको शुभकार्य पश्चात् कुभिण्डोलाई दैत्यको प्रतीक मानेर क्रमानुसार मार हान्छन् । कुनै परिवारमा कुभिण्डोको सटा बिमिरो, उखु, अदुवाको बोट, मूला, घिरौलामाथि मार हान्ने चलन छ ।यसप्रकार दैवीसाधना गरेको खड्गले कुभिण्डो वा अन्य वस्तुलाई मार हान्ने परम्पराले एकातिर दुर्गाभावानीले महिषासुर, शुम्भनिशुम्भ, चण्डमुण्ड आदि दैत्यलाई ंसंहार गरेको प्रतीकको रुपमा दिएका देखिन्छ भने अर्कोतिर मानव शरीमा भएका पशुप्रवृतिलाई छेदन गरेको इङ्गत गर्दछ ।